
काठमाडौ, १६ जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कुनै पनि बहानामा नेपाली कांग्रेसको १४ औै महाधिबेशन रोकिनु नहुने बताएकी छन्। नेपाली जनसम्पर्क समिति मलेसियाको तेस्रो अधिबेशनको भर्चुअल उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै नेतृ कोइरालाले महाधिबेशन घोषित मितिमा हुनु पर्ने औल्याईन् ।
राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर नेपाली कांग्रेसका नेता कार्यकर्तालाई धरपकड गरिरहेको समयमा पनि गिरिजा बाबुले आफू नजरबन्द रहेकै अवस्थामा पार्टीको जिल्ला अधिबेसनहरू जसरी पनि सम्पन्न गर्न निर्देशन दिएको सन्दर्भ स्मरण गर्दै कोइरालाले पार्टीको बिधानअनुसार अब समयावधि थप्न सम्भव नभएकाले तोकिएको मितिमा महाधिबेशन हुनुको विकल्प नभएको बताईन् । सोही सन्दर्भमा उनले बरु अब पार्टी अधिबेशनको निर्वाचन प्रणालीमा परिमार्जन गर्न सकिने उल्लेख गरिन् ।
अहिलेको अधिबेशनको निर्वाचन प्रणालीमा जिल्ला जिल्लाबाट सबै महाधिबेशन प्रतिनिधिहरू केन्द्रमा वा तोकिएको स्थानमा भेला हुने र केन्द्रिकृत भएर भोटिंग गर्नु पर्ने व्यवस्था छ जुन आर्थिक रुपमा महँगो र जिल्ला जिल्ला बाट प्रतिनिधिहरू आउदा भौतिक कठिनाई पनि हुने गरेको भन्दै उनले अब निर्बाचन प्रणालीलाई विकेन्द्रित गरि जिल्ला जिल्ला बाट नै महाधिबेशन प्रतिनिधिहरूले मतदान गर्न सक्ने व्यवस्था मिलाउने हो भने अहिलेको कोविड महामारीबाट पनि बच्न सकिने र आर्थिक रुपमा पनि कम खर्चिलो हुने जनाईन् ।
उनले नियमित संसदमा प्रस्तुत गर्नु पर्ने बजेट कामचलाउ सरकारले अध्यादेश मार्फत असंबैधानिक रुपमा पूर्ण आकारमा ल्याएको जुन प्रचारमुखी र चुनाबमुखी भएको हुनाले यसले देशको दीर्घकालीन बिकास भन्दा पनि जनतालाई भोटको लागि झुक्काउने हिसाबमा आएको आरोप लगाइन् । उनले संसद बिघटनको मुद्धा सर्बोच्च अदालतमा विचाराधीन रहेको जनाउँदै सर्बोच्च अदालतले अघिल्लो पटक पनि प्रधानमन्त्रीको असंबैधानिक कदमलाई सच्चाउँदै संसद पुनर्स्थापना गरेको हुनाले यो पटक पनि बहुमत सांसद आफै उपस्थित भएर रिट दायर गरेको हुनाले संबिधानको रक्षार्थ सर्बोच्च अदालतले संसद पुनर्स्थापना गर्नेमा आफु बिश्वस्त रहेको बताईन् ।