बिर्तामोड,१५ जेठ। पछिल्लो २४ घण्टाभित्र दमकका ५४ सहित झापामा १६३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी दमक नगरपालिकाका ५४ जना छन् ।शनिवार थपिएका संक्रमितमध्ये ७५ जना महिला छन् । दमकमा २७ जना महिलासहित ५४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका १७ महिलासहित ३१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।यस्तै, भद्रपुरमा ७ महिलासहित १३ जना, मेचीनगरमा ५ महिलासहित १२ जना, अर्जुनधारामा ६ महिलासहित ११ जना, कनकाईमा ३ महिलासहित १० जना, बुद्धशान्तिमा १ महिलासहित १० जना र शिवसताक्षीमा ३ महिलासहित ६ जनामा पनि संक्रमण भएको छ ।
कोभिड फोकल पर्सन जीवन चौंलागाईका अनुसार गौरीगञ्जमा ३ जना, कचनकवलमा २ जना, बाह्रदशी, कमल र झापा गाउँपालिकामा १–१ जनामा पनि संक्रमण भएको छ ।यो सँगै कुल संक्रमितको संख्या १० हजार १४७ पुगेको छ । शनिवार नै १४६ जना कोरोना जितेर घर फर्किएका छन् । डिस्चार्ज हुनेको संख्या ५ हजार ९ सय रहेको छ ।
झापाका ६ जनाको कोरोनाबाट मृत्यु
पछिल्लो पटक झापाका ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा दुई महिला र चार पुरुष रहेका छन् । अर्जुनधारा, मेचीनगर , दमक , हल्दिवारी , गौरीगञ्ज र बाह्रदशीका एक–एकजना संक्रमितको मृत्यु भएको हो । अर्जुनधाराका एक पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।अर्जुनधारा ११ निवासी ४० वर्षीय कटुवाल थरका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ्
यस्तै, मेचीनगर १० निवासी नेपाल यातायात मजदुर संघ प्रदेश न १ का उपाध्यक्ष एवं नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि देउमान लिवाङ्गको उपचारका क्रममा बिर्तासिटी हस्पिटलमा मृत्यु भएको हो । उनको आज बिहान २ बजे उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए । उनलाई १८ दिनदेखि सोही अस्पतालमा राखेर उपचार भईरहेको थियो ।
सोहि अस्पतालमा नै एन्टिजेन टेष्ट गर्दा पोजेटिभ आएको थियो । योसँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
त्यस्तै गौरीगञ्ज ६ की ५७ वर्षिया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । जेठ १२ गते यादव थरकी महिलालाई उपचारका लागि दमक लादै गर्दा बाटैमा मृत्यु भएको स्वास्थ्य शाखाका रामचन्द्र मिश्रले बताए । योसँगै गौरीगञ्जमा कोरोनाको नयाँ भेरियन्टबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ । झापामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २३४ पुगेको छ ।