
दमक,४ जेठ । दमकमा कोभिड उपचार केन्द्र मातहत रहने गरी कोभिड आईसोलेसन सेन्टर स्थापना गरिएको छ । दमक उद्योग बाणिज्य संघ, दमकका लायन्स क्लबहरु र रेडक्रस सोसाईटी उपशाखा दमकको संयोजनमा १५ बेड क्षमताको आईसोलेसन सेन्टर स्थापना गरिएको हो ।
आइसोलेसनको नगर प्रमुख रोमनाथ ओलीले आज यहाँ उद्घाटन गरे । उनले कोरोना महामारी विरुद्ध सवैको सहकार्य वन्न सकेमात्र त्यसलाई परास्त गर्न सकिने औल्याए ।
बेलडाँगीमा यसअघि दमक अस्पताल अन्तर्गतको ३० वेडको कोभिड उपचार केन्द्र सञ्चालनमा छ । आइसोलेसन शुभारम्भ कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले दमकमा सामाजिक संघसस्थाहरुको सक्रियता र यो विपतमा देखाएको सहयोगको प्रंशसा गरिन् ।
लायन्स लिडर ज्ञानु पौड्यालका अनुसार एकसातामै तयार भएको आईसोलेसन सेन्टर सरसफाईदेखि लिएर यसलाई सुविधायुक्त बनाउनका लागि लायन्सकर्मीहरु भोकपानी नभनी निरन्तर खटेका कारण सम्भव भएको छ ।
जन्मदिनमा आईसीयू बेड प्रदान
स्थानीय यूनिक कलेज दमकका प्रिन्सिपल शान्तिराम आचार्यले आफ्नो जन्मदिनको अवसरमा कोभिड उपचार केन्द्र दमकलाई आवश्यक उपकरणसहितको आईसीयू बेड प्रदान गरेका छन् ।
बुरुण्डीमा रहेकी छोरी चन्द्रा आचार्य, ज्वाई लक्ष्मीप्रसाद गौतम र छोराबुहारी मुकुन्द र सुनिता आचार्यले आफ्ना बुबाको जन्मदिनमा कोभिडका विरामीलाई लक्षित गरि त्यस्तो स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।
दमकसहित देशैभरि कोभिडको संक्रमण फैलिदै गएको र संक्रमण रोकथाम तथा उपचारमा थोरैभएपनि सहयोग पुरयाँउन परिवारको तर्फवाट पिताको जन्मदिनमा सो सहयोग उपलव्ध गराएको छोरी चन्द्रा आचार्यले वताईन् ।
उनकै पहलमा दमक अस्पताल कोरोना उपचार केन्द्र दमकलाई थप आईसीयू बेड उपलब्ध गराएकी छन् ।