छुट्टाछुट्टै सवारी दुर्घटनामा परी मोरङमा दुई जनाको मृत्यु

उर्लाबारी,११ कार्तिक ।छुट्टाछुट्टै सवारी दुर्घटनामा परी मोरङमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी–६ स्थित मुख्य चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जना र मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ तोरीबारी जंगलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुदाँ अर्का एक जनाको मृत्यु भएको हो ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी चोकमा पथरीबाट दमकतर्फ जादै गरेको बागमती प्रदेश ०१–००४ क २२२८ नम्बरको ट्रकले प्रदेश १–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक उर्लाबारी– ८ बस्ने ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको थियो । दुर्घटनामा गंभीर घाईते उनलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको साँझ ६ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न ट्रक चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ निवासी ३४ वर्षीय खड्गप्रसाद लावतीलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक नविन ओलीले जानकारी दिईन् ।
यसैगरी, सोमबार राति करिब ११ः२० बजे मिक्लाजुङ गाउँपालिका–८ स्थित तोरीबारी जंगलमा मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को १५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुदाँ ३१ बर्षिय स्थानीय दिपेन लिम्बूको मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि लिम्बूको टाउकोमा चोट लागेको थियो। उनलाई उपचारका लागि अरनिको अस्पताल लगिएतापनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सो मोटरसाइकल लाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.