इलाममा ट्रक दुर्घटना, भारतीय एक युवाको मृत्यु

इलाम,१८ भदौं । आज इलाममा बेलिब्रिजको सामग्री बोकेको ट्रक  दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी २९बी २९४४ नम्बरको ट्रक आज दिउँसो मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना हुँदा सहचालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३० वर्षीय रबिन बर्मुन र ट्रकमा सवार सिन्धुपाल्चोकको चौतारा नगरपालिका-३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका उनले बताए ।

घाइते दुवै जनालाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । ट्रक अनियन्त्रित भई सडकको दाहिने साइडबाट अन्दाजी पाँच मिटर तल झरी दुर्घटना भएको प्रनाउ भण्डारीले बताए ।

ट्रक इलामको तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत इलाम नगरपालिका-१० र माईजोगमाई गाउँपालिका-४ जोड्ने जोगमाई खोलामा निर्माणाधीन बेलिब्रिजको सामग्री लिएर झापाबाट इलामतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.