सामाजिक सदभाव कायम राख्न धर्मगुरुहरुको अपिल

उर्लाबारी,१८ साउन । मोरङको लेटाङ –१ राजारानीस्थित अन्तरधार्मिक शान्तिपार्कमा आइतबार पाँच धर्मका धर्मगुरूहरूले धार्मिक सहिष्णुता र सामाजिक सदभाव कायम राख्न संयुक्त अपिल गरेका छन् ।
लेटाङ नगरपालिका, अन्तरधार्मिक शान्ति सञ्जाल मोरङ र सामास्दायिक विकास मञ्च नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, इसाई, इस्लाम र किरात धर्मका धर्मगुरुहरूले संयुक्त अपिल गरेका हुन् ।
हिन्दू धर्मका गुरू पण्डित राजेन्द्र ढकाल, बौद्ध धर्मका लामा राजेन्द्र स्याङ्देन, इसाई धर्मका पास्टर आकाश थुलुङ, ईस्लाम धर्मका मौलाना मोहम्मद अताउल्लाह र किरात धर्मका गुरू धर्मराज लिम्बूले संयुक्त अपिलमा हस्ताक्षर गरी धार्मिक सहिष्णुता र सामाजिक सदभाव कायम राख्न संयुक्त अपिल गरेका हुन् ।

धर्म गुरूहरूले जारी गरेको अपिलमा सुनसरीको देवानगञ्जमा साउन १० गते भएको दुःखद घटनाप्रति दुःख ब्यक्त गर्दे भनिएको छ , –‘संयुक्त अपिलमा यस्ता संवेदनशील घटनालाई आधार बनाएर समाजमा वैमनस्यता, द्वेष र विभाजन फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दछौं । ’
अपिलमा नेपाल धार्मिक सहिष्णुता, सामाजिक एकता र विविधताबीचको सद्भावका कारण विश्वमै परिचित रहेको उल्लेख गर्दै कुनै पनि घटनालाई लिएर धार्मिक वा सामुदायिक विद्वेष फैलाउन नहुने स्पष्ट पारिएको छ । समाजमा शान्ति, सहअस्तित्व र भाइचाराको वातावरण कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिइएको छ ।
धर्मगुरुहरूले आ–आफ्नो समुदायमा शान्ति, संवाद र मेलमिलापको सन्देश फैलाउन आग्रह गर्दै हिंसा, घृणा र उत्तेजनाभन्दा सहिष्णुता, आपसी सम्मान र विवेकपूर्ण व्यवहारले मात्र समाजलाई सुदृढ बनाउन सक्ने बताएका छन् ।
संयुक्त अपिलमा मुस्लिम, हिन्दु, इसाई, बौद्ध तथा किंरात धर्मका प्रतिनिधिहरूसँगै सामुदायिक विकास मञ्च नेपालका अध्यक्ष रामचन्द्र बुढाथोकी, अन्तरधार्मिक शान्ति सञ्जाल मोरङका अध्यक्ष सुमन कुरुम्बाङ र लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले हस्ताक्षर गरेका छन् ।
लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीको सभापतित्वमा भएको कार्यक्रमकमा पाँचै जना धर्मगुरुहरू, श्रम संस्कृति पार्टीका नगर अध्यक्ष ललित लिम्बू, नेकपाका नगर इन्चार्ज विनोद नेपाल र अन्तरधार्मिक शान्ति महासङ्घका महासचिव रामचन्द्र भट्टराईले बोलेका थिए ।

 

Leave a Reply

Your email address will not be published.