झापा , ८ साउन । झापाको शिवसताक्षी नगरपालिका–११, दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्माको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ जाँँदै गरेको मे १२ प २०३ नम्बरको २०० सीसीको हिरो मोटरसाइकल अनियन्त्रित भई धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकनजिक सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक दमक १ निवासी करिब ४५ वर्षीय शेर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिमा रहेको हुन सक्ने देखिएको छ । यद्यपि दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
मृतक शेर्माको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।प्रधानाध्यापक शेर्माको असामयिक निधनले विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा गहिरो शोक छाएको छ ।