स्माईल डेन्टलद्धारा सर्पदंश उपचार केन्द्रलाई सहयोग

दमक,८ साउन । दमक–६ स्थित दमक स्माइल डेन्टल केयरले नेपाल रेडक्रस सोसाइटी दमक पालिका शाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रलाई करिब दुई लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।

शुक्रवार रेडक्रस शाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच डेन्टलका सञ्चालक पारस पाण्डेले सर्पदंशका बिरामीहरूको आकस्मिक उपचारमा उपयोग हुने बेडसहित आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन्।
उक्त सामग्रीले उपचार केन्द्रमा आउने बिरामीहरूको उपचार तथा व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा गरिएको उल्लेख गरे । उनले आगामी दिनमा समेत यस किसिमको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।
सामाजिक अगुवा तथा लायन्स क्लव अफ श्रीअन्तुका पूर्व अध्यक्ष समेत रहेका पाण्डेले रेडक्रसका अति विपन्न परिवारको दाँत सम्बन्धी सवै उपचारमा रेडक्रस मार्फत आए आफूले कुनै शुल्क नलिने जनाएका छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दमक पालिका शाखाकी संयोजक गोमा बुढाथोकी, पूर्व सभापति प्रकाश बुढाथोकी, सर्पदंश उपचार केन्द्रका प्राविधिक देवीप्रसाद भण्डारी, रक्त सञ्चार सेवाका प्रबद्र्धक सिद्धार्थ दाहाललगायतको उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा स्वास्थ्य सेवाको सुदृढीकरणमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहने भन्दै सहभागीहरूले स्माइल डेन्टल केयरले गरेको सहयोगको प्रशंसा गरेका छन्।
सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको उक्त सहयोगले सर्पदंश उपचार केन्द्रको सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।
विगत १८ बर्षदेखि सञ्चालित उक्त डेन्टलले बर्षेनी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यहरुमा सहयोग पुरयाँउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.