-इलाममा बोलेरो खस्दा चालकसहित सात घाइते
दमक ,७ साउन । तीनवटा सवारी साधन एकापसमा जुध्दा दमकमा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । मृत्यु हुनेमा दमक–३ का ५३ वर्षीय रनबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, बुधबार साँझ ५ः३० बजे दमक ४ भाइरल रोडको संगम चोकस्थित भित्री सडकखण्डमा आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश न.१–०२–००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई सामान्य ठक्कर दिएको थियो ।
साइकल अनियन्त्रित हुँदा सोही दिशाबाट जाँदै गरेको प्रदेश न.१–०१–०१५ प १४४ नम्बरको मोटरसाइकलले समेत ठक्कर दिँदा साइकल यात्री बिष्ट गंभीर घाइते भएका थिए । गम्भीर घाइते विष्टको उपचारका क्रममा विहिबार बिहान ४ बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकल चालक बस्नेतको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न कार, मोटरसाइकल र साइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक मोरङ उर्लाबारी–७ का ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इलाममा बोलेरो खस्दा चालकसहित सात घाइते
इलाम नगरपालिका–८ को बज्रदेवी क्षेत्रमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय इलामका अनुसार झापाबाट इलामतर्फ आउँदै गरेको प्र १–०१–००१ ज ४१३२ नम्बरको बोलेरो बिहीबार दिउँसो करिब १ बजे उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा झापाको कन्काई नगरपालिका–९ का ४० वर्षीय नाजु आलम, ४७ वर्षीय गोपालप्रसाद दुलाल, सुनसरीको धरान उपमहानगरपालिका–१० की ३६ वर्षीया रिता चेम्जोङ, चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३३ वर्षीय रमेश चेम्जोङ, झापाको दमक नगरपालिका–७ का २२ वर्षीय रोहिन लावती, धरान–१० का ७३ वर्षीय महेश कुमार राई तथा उनका ३४ वर्षीय छोरा मनकुमार राई घाइते भएका छन्।
प्रहरीका अनुसार नाजु आलम र महेश कुमार राईको अवस्था मध्यम रहेको छ भने अन्य पाँच जनाको अवस्था सामान्य छ ।
दुर्घटनामा घाइते सबैको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।