घरपालुवा कुकुरको जन्मदिन मनाइयो

कमल,२९ असार । सामान्यतः मानिसले आफ्नो जन्मदिन मनाउने चलन छ। तर झापाको कमल गाउँपालिका–५, मङ्गलबारेमा भने घरपालुवा कुकुरको जन्मदिन नै भव्य रूपमा मनाइएको छ ।
स्थानीय सञ्चरानी लिम्बुले पालेको ’रियु’ नामक घरपालुवा कुकुरको जन्मदिन आइतबार साँझ परिवार तथा आफन्तको उपस्थितिमा केक काटेर, सजावट गरी र शुभकामना आदानप्रदान गर्दै मनाइएको हो।
कार्यक्रममा रियुलाई विशेष पोसाक लगाइदिएको थियो भने जन्मदिनको अवसरमा केक काट्ने, तस्बिर खिच्ने तथा खुसी साटासाट गर्ने कार्यक्रम गरिएको सहभागीहरूले बताएका छन्। परिवारका सदस्य पनि भएको भन्दै घरधनी वृद्धा सञ्चरानीले बर्षेनी यसरीनै जन्मदिन मनाई दिने गरेको सुनाईन् ।

पछिल्ला वर्षहरूमा नेपालका शहरी तथा अर्धशहरी क्षेत्रमा घरपालुवा जनावरलाई परिवारको सदस्यसरह माया गर्ने र उनीहरूको जन्मदिन मनाउने प्रवृत्ति विस्तार हुँदै गएको देखिन्छ। पशुप्रेमीहरूका अनुसार यस्ता कार्यक्रमले घरपालुवा जनावरप्रतिको माया, जिम्मेवारी र संरक्षणको भावना झल्काउँछ। अर्कोतर्फ, केहीले यसलाई आधुनिक जीवनशैलीको प्रभाव र नयाँ सांस्कृतिक अभ्यासका रूपमा पनि हेर्ने गरेका छन्।

कमल–५ मा रियुको जन्मदिन मनाइएको घटनाले स्थानीय स्तरमै चासो र चर्चा पाएको छ । मानिसको मात्र होइन, घरपालुवा जनावरप्रतिको आत्मीयता पनि उत्सवका रूपमा अभिव्यक्त हुन थालेको यो घटना बदलिँदो सामाजिक सोच र पशुप्रेमको एउटा रोचक उदाहरण बनेको पशुप्रेमी कुमार ढकाल बताउँछन् । .

Leave a Reply

Your email address will not be published.