दमक,६ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कार्यकर्ता भेटघाटका क्रममा झापा आउने भएका छन् । पार्टीको काठमाण्डौंमा सम्पन्न विशेष महाधिबेशनबाट निर्वाचित भएपछि सभापति थापा यही असार ९ गते झापा आउने भएका हुन् । सभापति पछि झापामा उनको यो पहिलो भेटघाट हुन लागेको हो ।
कांग्रेस झापाका सभापति देउमान थेवेका अनुसार कांग्रेस पार्टी सभापति थापाको झापामा हुने यस भेटघाटले पार्टी संगठन निर्माणमा उर्जा आउने छ । कांग्रेस झापाको आयोजनामा विर्तामोडस्थित पाथीभरा सिने प्लाजामा विहान ११ वजे हुन लागेको जिल्लास्तरिय वृहत कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि हुन केन्द्रीय सभापति थापा लगायतका केन्द्रीय नेताहरु झापा आउँदै छन् ।
सभापति थेवेले भेटघाट कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन जिल्लाका सवै तहगत समिति र भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
कांग्रेस झापा- ५ क्षेत्रीय कार्यसमितिले आफना सभापति थापाको पहिलोपटक हुन लागेको जिल्लास्तरिय पार्टी कार्यकर्ता भेटघाट कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन आवश्यक तयारी थालिएको क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।
जिल्ला भेलालाई सफल बनाउन शनिवार दमकस्थित क्षेत्रीय पार्टी कार्यालयमा बसेको क्षेत्रीय समितिको बैठकले केन्द्रीय सभापति थापाको यस पटकको पहिलो भेटघाट एक ढिक्का भएर सफल बनाउने निर्णय भएको उनले बताए । बैठकमा पार्टी केन्द्रीय सदस्य शुरेस सुब्बा ,पूर्व आमन्त्रीत केन्द्रीय सदस्य दिलीप वान्तवा लगायतका जिल्ला, प्रदेशसभा, क्षेत्रीय समितिका पदाधिकारी ,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।