प्रधानमन्त्रीको क्षेत्रमा सडकमै धान रोपेर स्थानीयको विरोध

दमक,२७ जेठ । वर्षायाम सुरु भएसँगै सडक पुनः हिलाम्मे बनेपछि झापा, दमकका स्थानीय बासिन्दाले सडकमै धान रोपेर विरोध जनाएका छन्। दमक- ९ र १० जोडिने वर्षौंदेखि जीर्ण बनेको सडकका कारण सास्ती खेप्दै आएका स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सांकेतिक आन्दोलनस्वरूप हिलाम्मे सडकमा नै आज धान रोपेका हुन्।

सडकभरि पानी जमेर खाल्डाखुल्डी परेपछि आवतजावत गर्नै कठिन भएको र पटक–पटक आग्रह गर्दा पनि समस्या समाधान नभएपछि स्थानीय धानको बेर्ना बोकेर सडकमा उत्रिएका थिए । उनीहरूले सडकको दुरवस्थाले दैनिक जीवन कष्टकर बनेको भन्दै तत्काल स्तरोन्नति र कालोपत्रेको माग गरेका छन्।

प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आसपास पर्ने यो सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने समस्याबाट वर्षौंदेखि ग्रस्त छ । स्थानीयका अनुसार सडकको अवस्थाले बिरामीलाई अस्पताल पु¥याउन, बालबालिकालाई विद्यालय पठाउन र किसानका उत्पादन बजारसम्म लैजानसमेत कठिनाइ भइरहेको स्थानीय नगेन्द्रमणि न्यौपानेले गुनासो गरे ।
स्थानीय बासिन्दाले अब पनि सडक स्तरोन्नति र कालोपत्रेको काम सुरु नभए नगरपालिका घेराउसहित थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published.