झापा, २० जेठ । झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मेचीनगर–९ मा रहेको होलिबेल स्कुलको मे १ क ३९१ नम्बरको स्कुल बस गोमनचरीबाट धुलाबारीतर्फ भित्री सडक हुँदै जाँदै थियो। सोही समयमा इँटाभट्टाबाट गोमनचरीतर्फ आउँदै गरेको मे ९ प ९९०७ नम्बरको मोटरसाइकलसँग मेचीनगर–७ स्थित इँटाभट्टा क्षेत्रको सिमेन्ट फ्याक्ट्री नजिक बस ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले दुवैलाई साँझ ५.५० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतकहरुको शव सोही अस्पतालमा नै रहेको छ ।बस चालक मेचीनगर – ११ बस्ने ४२ वर्षीय निरेन धिमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।दुबै सवारी साधन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।