मेउवा संघको अध्यक्षमा पुनः प्रसाईं निर्वाचित

मेचीनगर,२८ बैशाख । मेची उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुनः खेमराज प्रसाईं अध्यक्ष पदमा निर्वाचित भएका छन्। निर्वाचन समितिका संयोजक पदम डाँगीका अनुसार अन्तिम मतपरिणाममा प्रसाईंले ७७३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी किशोर -कपिल क्षेत्रीले ७३३ मत प्राप्त गरे। अध्यक्ष पदमा विजयी प्रसाईं र क्षेत्रीबीच ४० मतको अन्तर रहेको छ।
त्यसैगरी, संघको वरिष्ठ उपाध्यक्ष पदमा आनन्द खड्का विजयी भएका छन्। निकै प्रतिस्पर्धात्मक देखिएको यस पदमा खड्काले ७५२ मत ल्याउँदा उनका प्रतिस्पर्धी भूमि पौडेलले ७४५ मतमा चित्त बुझाउनु पर्यो। उद्योग उपाध्यक्षमा भने हरि कोइराला ७९५ मतका साथ निर्वाचित भए भने बाणिज्य उपाध्यक्षमा सन्तोष खवासले ८०७ मतको भारी अन्तरसहित जित निकालेका छन्। महिला उपाध्यक्ष पदमा उषा नेपाली श्रेष्ठ ७८० मत ल्याएर विजयी भइन्।

कार्यसमितिको प्रभावशाली मानिने महासचिव पदमा ध्रुब कनाल निर्वाचित भएका छन्। कनालले ७२४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिनेश शाक्यले ७२० मत ल्याएका थिए। सदस्य पदहरुमा महिलातर्फ कृष्णकुमारी प्रसाईं (कल्पना) र चम्पा नेम्बाङ विजयी भएका छन्। पुरुष सदस्यहरुमा अर्जुन तिवारीले सर्वाधिक ८६६ मत ल्याएका छन् भने आशिष संग्रौला, सचिन निरौला, तारा श्रेष्ठ, राजेशकुमार बंशल, जयकुमार श्राप, खिरोज बराल र दिनेश पोखरेल निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published.