धरान, २८ बैशाख । छुरा प्रहार गरी सुनसरीको धरानमा आइतबार दिउँसो एक युवकको हत्या गरिएको छ । धरान उपमहानगरपालिका–१० बेलगाछी लाइनका २७ वर्षीय जीवन भुजेलको हत्या भएको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरी प्रहरीका सूचना अधिकारी एवम् डीएसपी चन्द्रबहादुर खड्काका अनुसार स्थानीय युवासँग आपसी विवाद हुँदा भुजेलमाथि दिउँसो १ः४५ बजेतिर छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
छुरा प्रहारबाट भुजेलको दायाँ कुममा गम्भीर चोट लागेको थियो । घाइते उनलाई उपचारका लागि सुरुमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा चिकित्सकले उनलाई दिउँसो ४ः३५ बजे मृत घोषणा गरेको डीएसपी खड्काले जानकारी दिए । घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको तर उनी अझै फरार रहेको प्रहरीले जनाएको छ ।
भुजेललाई धरान–१९ का करिब २८ वर्षीय जीमी भनिने अर्जुन विश्वकर्माले छुरा प्रहार गरेको प्रहरीको दाबी छ । ‘हत्यामा संलग्नको पहिचान भइसकेको छ, उनी अहिले फरार छन्,’ डीएसपी खड्काले भने, ‘पक्राउका लागि खोजी कार्य तीव्र पारिएको छ ।’
भुजेल र विश्वकर्माबीच कुन विषयलाई लिएर विवाद भएको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।