बालबालिका तथा युवा खेलाडीका लागि दुर्घटना बीमा

पथरी शनिश्चरे, १८ बैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडाभित्रका बालबालिका तथा युवा खेलाडीहरूको सुरक्षालाई लक्षित गर्दै दुर्घटना बीमा गरिदिएको छ ।
वडा कार्यालयले ३ वर्षदेखि १५ वर्षसम्मका सम्पूर्ण बालबालिका तथा १९ वर्षसम्मका युवा खेलाडीहरूलाई समेटेर दुर्घटनापछि हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बीमा कार्यक्रम सञ्चालन गरेको हो ।
गत वैशाख १५, १६ र १७ गते सञ्चालन भएको बीमा शिविरमार्फत ६ सय ६७ जना बालबालिका तथा खेलाडीहरूको बीमा गरिएको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिएका छन्।
पथरी शनिश्चरे नगरपालिकाभित्र सरकारी तवरबाट पहिलो पटक वडा स्तरमै बालबालिका र खेलाडीहरूको सामूहिक दुर्घटना बीमा गरिएको वडा कार्यालयले जनाएको छ ।
मेट लाइफ अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बीमित व्यक्तिलाई एक वर्षभित्र दुर्घटना, चोटपटक, सर्पदंश तथा कुकुर–बिरालो लगायत जनावरले टोकेको अवस्थामा उपचार खर्चबापत अधिकतम एक लाख रुपैयाँसम्म बीमा दाबी गर्न सकिने छ ।
बालबालिका तथा युवा खेलाडीहरू दुर्घटनापछि उपचार अभावमा पर्न सक्ने जोखिम कम गर्नुका साथै अभिभावकमाथि पर्ने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको वडा अध्यक्ष कार्कीले जनाएका छन्।

Leave a Reply

Your email address will not be published.