बहुमतलाई कारबाही गरेर अल्पमतले धाक देखाउनु हाँस्यास्पद : खड्ग फागो,कोशी प्रदेश सहमहामन्त्री

नेपाली कांग्रेसमा विभाजनको संकेत देखिएको छ, संस्थापन पक्षले नेताहरूलाई कारबाही गरेको छ। विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने र पार्टीको आधिकारिकताको विवाद सुरु हुने सम्भावना छ। कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले यो विभाजन नभई रूपान्तरणको अभियान भएको बताए।
विराटनगर । नेपाली कांग्रेस विभाजनतिर अघि बढेको छ । संस्थापन समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई कारबाही गरेको छ भने महामन्त्रीद्वयकै पहलमा बोलाइएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।
योसँगै अब कांग्रेसको आधिकारिकताको विवाद सुरु हुनेछ । पार्टीको झन्डा र चुनाव चिह्न कसको हुने भन्ने विषय निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने निश्चितजस्तै छ ।

यही सन्दर्भमा विशेष महाधिवेशनस्थलमा रहेका कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोसँग गरिएको कुराकानीको सम्पादित अंश :

कांग्रेस अब औपचारिक रूपमै विभाजन भयो होइन ?

यसलाई विभाजन भन्न मिल्दैन । यो त विधानमा भएको व्यवस्था अनुसार कार्यकर्ता र नेताहरूले खोजेको रुपान्तरण हो । आम नागरिकले सुशासन खोजिरहेका छन् । ७६ जनाको ज्यान गइसकेको छ, नेताहरूलाई थ्रेट छ । यस्तो अवस्थामा पार्टी समयसापेक्ष चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । माओवादी र एमालेजस्ता दलले पनि अधिवेशनमार्फत नयाँपन खोजिरहेका बेला हामी पुरानै ढर्रामा चल्न सक्दैनौँ । यो कुनै व्यक्ति विशेषको होइन, सक्षम र सबल कांग्रेस बनाउने अभियान हो ।

तर संस्थापन पक्षले त महामन्त्री र सहमहामन्त्रीलाई कारबाही गरिसक्यो नि, अब के हुन्छ ?
बहुमत महाधिवेशन प्रतिनिधिहरूले गरेको निर्णय र सर्वोच्च निकायको भावना विपरीत गरिने कारबाहीको कुनै तुक छैन । विधानको धारा ३४ र ५० का कुरा उहाँहरूले गर्नुभएको छ, तर बहुमतलाई कारबाही गरेर अल्पमतले धाक देखाउनु हाँस्यास्पद हो । सचेत नागरिक र कार्यकर्ताले सबै बुझेका छन् । यो केवल दम्भको पराकाष्टा हो, जसको विकल्प खोज्नैपर्छ ।

निर्वाचन आयोगले तपाईंहरूलाई नै मान्यता दिन्छ भन्ने आधार के छ ?

निर्वाचन आयोगले विधि, पद्धति र कानुन हेर्ने हो । लोकतन्त्रमा टाउको गनिन्छ र बहुमतको कदर हुन्छ । अल्पमतलाई मान्यता दिएर बहुमतलाई पाखा लगाउने काम आयोगबाट हुँदैन भन्नेमा हामी विश्वस्त छौँ । ३० देखि ४५ दिनसम्मको समयसीमाभित्र सबै प्रक्रिया पूरा हुँदा बहुमत प्रतिनिधिहरूको पक्षमा नै फैसला आउनेछ ।

………………………………………………………………………………………………………………………………………………………………………

बहुमत महाधिवेशन प्रतिनिधिहरूले गरेको निर्णय र सर्वोच्च निकायको भावना विपरीत गरिने कारबाहीको कुनै तुक छैन । विधानको धारा ३४ र ५० का कुरा उहाँहरूले गर्नुभएको छ, तर बहुमतलाई कारबाही गरेर अल्पमतले धाक देखाउनु हाँस्यास्पद हो । सचेत नागरिक र कार्यकर्ताले सबै बुझेका छन् । यो केवल दम्भको पराकाष्टा हो, जसको विकल्प खोज्नैपर्छ ।

……………………………………………………………………………………………………………………………………………………………

प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गतेको मनोनयन प्रक्रिया र आगामी नेतृत्वका बारेमा अब के हुन्छ ?

राष्ट्रको चिन्ता गर्ने नेताहरू बसेर यसलाई टुङ्ग्याउनु हुनेछ । जहाँसम्म नेतृत्वको कुरा छ, गगन थापाको नेतृत्वमा रहेको हाम्रो टिमले पार्टीलाई नयाँ दिशा दिनेछ । हाम्रा महाधिवेशन प्रतिनिधिहरू अहिले अध्ययनशील र सचेत छन्, उनीहरू कसैको लोभ वा डरमा परेर पछि हट्ने अवस्था छैन ।

कोशी प्रदेशबाट तपाईंबाहेक अरु को शीर्ष नेताहरू तपाईहरूको साथमा हुनुहुन्छ ?

कोशी प्रदेशबाट महेश आचार्य, गुरुराज घिमिरेजस्ता वैचारिक र प्रभावशाली नेताहरू हुनुहुन्छ । हाम्रो एउटा मजबुत सूची बनिरहेको छ, जो पार्टीको आन्तरिक लोकतन्त्र र सुदृढीकरणका लागि प्रतिवद्ध हुनुहुन्छ । नयाँ अन्तरिम कार्यसमिति बनेसँगै तपाईंहरूले थप स्पष्ट रूपमा सबै थाहा पाउनुहुनेछ ।

Leave a Reply

Your email address will not be published.