झापामा भेटियो विश्वकै सबैभन्दा ठूलो विषालु सर्प ‘राज गोमन’

झपा ,१२ भदौं । विश्वकै सबैभन्दा ठूलो विषालु सर्प मानिने राज गोमन (किङ कोब्रा) पहिलो पटक झापामा भेटिएको छ । उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–७, जरेवरस्थित स्थानीय रनबहादुर चेम्जोङको घरबाट दिउँसो करिब साढे १ वजे उक्त गोमन उद्धार गरिएको हो ।

यसलाई झापामा पहिलो अभिलेखीय उद्धार घटना मानिएको छ । सर्प उद्धारको जानकारी पाउन साथ युवा उद्धारकर्ता कृपेश कार्की घटनास्थल पुगे । ठूलो आकारको ‘राज गोमन’ देखेपछि उनले थप सहयोग मागे र अनुभवसहितका उद्धारकर्ता श्याम प्रधान र वीरेन्द्र तिवारी पनि त्यहाँ पुगे । तीन जनाको करिब एक घण्टा लामो प्रयत्नपछि सर्पलाई उद्धार गरिएको हो ।

उद्धारपछि सर्पलाई बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा ल्याइयो । त्यहाँबाट वन्यजन्तु उप–विभाग चारआलीलाई तत्काल जानकारी गराइएपछि दुई जना वन कर्मचारी आएर सर्पलाई आधिकारिक रूपमा नियन्त्रणमा लिएका थिए । सर्पको तौल करिब ८ दशमलव ५ किलो र लम्बाई १२ दशमलव ५ फिट रहेको थियो ।
जिल्ला वन कार्यालय भद्रपुरको समन्वयमा सर्पलाई बिर्तामोडको एक सामुदायिक वनको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको मेची वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले जनाए ।

समाजका अध्यक्ष खरेलका अनुसार सर्प मारिनु हुँदैन । यी पनि प्रकृतिको हिस्सा हुन् । विशेषगरी ‘राज गोमन’ जस्ता प्रजातिले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन् । यस्ता जीवहरूले अन्य विषालु तथा अबिषालु सर्पदेखि साना जीवजन्तुको सन्तुलनमा योगदान पु¥याउँछन् ।
‘तर, नेपालको धेरै ठाउँमा अहिले पनि सर्प देख्नासाथ मार्ने चलन जीवित छ’, खरेलले भने, ‘यस्तो प्रवृत्तिले वातावरणीय श्रृंखला भत्काउने खतरा बढाउँछ’, अध्यक्ष खरेलले भने । झापामा ‘राज गोमन’ भेटिनु आफैंमा दुर्लभ घटना हो । भारत, भूटान र आसाम क्षेत्रका उष्णकटिबन्धीय जंगलमा बढी पाइने यो प्रजाति नेपालमा प्रायः तराईका घना वन क्षेत्रमा मात्र देखिने गर्छ ।

Leave a Reply

Your email address will not be published.