पथरी शनिश्चरे ,२५ असोज । नेपाल पुलिस क्लब काठमाडौंले मोरङको पथरी शनिश्चरे मा सञ्चालित अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकपको उपाधि जितेको छ । पथरीशनिश्चरे नगरपालिका–१, जाँते मोडस्थित प्रस्तावित रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा झापा–११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि उचालेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा नेपाल पुलिस क्लबले पाँच गोल गर्दा झापा–११ ले चार गोल मात्रै गर्न सक्यो। यससँगै पुलिसले उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।
उपाधि विजेता नेपाल पुलिस क्लबले नगद ६ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता झापा–११ फुटबल क्लबले नगद ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृतसमेत गरिएको थियो।प्रतियोगितामा प्लेयर अफ दि टुर्नामेन्ट नेपाल पुलिसका सुजन मगर पुलामी घोषित भए भने बेष्ट गोलकिपर नेपाल पुलिस क्लबकै अमित टमाटा बने। यसैगरी, राइजिङ प्लेयरका रूपमा पथरी –११ एफसीका विशाल पुलामी मगर घोषित भएका छन् भने खेल अवधिभर सर्वाधिक गोलकर्ता झापा ११एफसीका प्रताप राई घोषित भएका हुन्।
मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य गणेश कार्कीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, गृह मन्त्रालयका सचिवालय प्रमुख जेम्स कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि, नगर प्रमुख र आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।