दमक,१२ भदौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको सुविधासम्पन्न कार्यालय भवनको उद्घाटन गरेका छन् ।
मन्त्री दाहालले पूर्वपश्चिम एसियन हाइबे बिस्तार आयोजनाको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड), दमक झापाको नवनिर्मित कार्यालय भवनको आज यहाँ एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा मन्त्री दाहालले आयोजनाको काममा ढिलासुस्ती गर्न छुट नभएको बताउदै यो योजनाको काम निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्देशन दिए । उनले सडक विस्तारपछि अन्तरदेशीय सडक सञ्जाल झनै उपयोगी हुने विश्वास व्यक्त गरे ।
आयोजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुने छ । कार्यक्रममा सडक बिभागका महानिर्देशक डा. विजय जैशी, एशियाली विकास बैंक (एडीवी) परियोजना प्रमुख चुडाराज ढकाल लगायत बिभागका अधिकारीहरुको सहभागिता रहेको थियो । सडक कार्यालय परिषरमा निर्मित आयोजनाको सो भवन रु ८ करोड ७ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।