प्रधानमन्त्री ओलीले गरे दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

 दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् ।
विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडकको आज एक कार्यक्रमका बीच प्रम ओलीले उद्घाटन गरे । विश्व बैकको सहयोगमा नेपालभरका १७ सडकमध्ये एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।

सडक उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे उल्लेख गरे । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे ।

आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको मदनडाँगी–ताराबारी–डिपु सडक उद्घाटन कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतले बोलेका थिए । नगर उपप्रमुख रेगिना भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन भने सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, पूर्व मुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.