देशभर १६ प्रतिशत मात्र धान रोपाइँ

झापा,१५ असार । असार आधाआधी बित्दा १६ प्रतिशत हाराहारी मात्र रोपाइँ भएको छ । आइतबार मुलुकभर धान दिवस मनाइरहँदा सरकारले १३ असार सम्ममा १५.६ प्रतिशत रोपाइँ सकिएको आकडा सार्वजनिक गरेको छ । यो गत बर्षभन्दा थोरै कम हो । अघिल्लो बर्ष १४ असार २०८१ सम्ममा १७.२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो ।
बर्खे धान १३ लाख ९१ हजार ३ सय २१ हेक्टरमा लगाइने गरिएकामा यसपालि हालसम्म २ लाख १७ हजार २ सय ८९ हेक्टरमा रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । ‘मनसुन सक्रिय नै छ, मधेशबाहेक अन्य क्षेत्रको रोपाइँ राम्रो छ,’ केन्द्र प्रमुख केशव देवकोटा भन्छन् ।
मधेशमा चैते धान र मकै खेती रहेकाले रोपाइँमा केही ढिलाइ भएको देवकोटाको भनाइ छ । बाँके, बर्दियालगायत क्षेत्रमा चैते धान र मकै खेती भित्र्याउने क्रम नसकिएको उनी बताँउछन् । ‘बर्खे धानका लागि जमिन खाली हुन बाँकी नै छ,’ देवकोटा भन्छन्, ‘त्यही भएर पनि मधेशमा कम रोपाइँ भएको देखियो, असार तेस्रो सातापछि रोपाइँ बढ्छ ।’
मधेशमा ३.९ प्रतिशत मात्र रोपाइँ भएको केन्द्रले जनाएको छ । मधेशमा ३ लाख ८० हजार २ सय ८३ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १४ हजार ७ सय ८५ हेक्टरमा रोपाइँ सकिएको छ ।
केन्द्रका वरिष्ठ माटोविज्ञ बलराम रिजाल मधेशमा असार लागेपछि मात्र ब्याड राख्ने चलन भएकाले थोरै रोपाइँ भएको बताउछन् । पहाडको हकमा भने जेठ अन्तिमबाटै रोपाइँ सुरु हुने उनको भनाइ छ । ‘मधेशमा फाट्टफुट्ट मात्र रोपाइ भएको छ, पानी परिराखेको छ, अब रोपाइँले तीव्रता लिन्छ,’ उनी भन्छन् ।
सबैभन्दा धेरै मध्य पहाडमा रोपाइँ भएको छ । खोलानाला र छेउछाउ खेतमा बढी रोपाइँ भएका छन् । सबैभन्दा धेरै सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाइँ भइसकेको छ । यस प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ८० हजार १ सय २८ हेक्टरमा रोपाइँ भएको छ । कर्णालीमा ३९.१ प्रतिशत रोपाइँ भइसकेको छ । यस प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १६ हजार २ सय हेक्टरमा रोपाइँ भएको छ ।

Leave a Reply

Your email address will not be published.