-पदक विजेता योगीलाई सम्मान
दमक,३० जेठ । दमक तेक्वान्दो डोजाङका तीनजना खेलाडीलाई विद्यालय पोसाक वितरण गर्नुका साथै पदक विजेता एकजना खेलाडीलाई सम्मान गरेको छ ।डोजाङमा आबद्ध खेलाडीहरु अर्पण धिमाल, आशिष धिमाल र रेशु धिमाललाई विद्यालय पोशाक वितरण गरिएको हो । विपन्न परिवारका उनीहरु दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत छन् । उनीहरु डोजाङका क्षमतावान खेलाडीका रुपमा मानिन्छन् ।
दमक- ५ स्थित सर्वोदय बोर्डिङ स्कुलमा शुक्रबार एक कार्यक्रम गरी तिनै विद्यार्थी खेलाडीहरूलाई समाजसेवी तथा डोजाङका सल्लाहकार संयोजक गजु देवान, डोजाङका अध्यक्ष जितु धिमाल,पत्रकार अनिलदेव राई लगायतले सहयोगी सामाग्री वितरण गरेका थिए । ती विद्यार्थीहरुलाई डोजाङले गतवर्षदेखि निशुल्क प्रशिक्षण गराउदै आएको अध्यक्ष धिमालले बताए ।
सोही अवसरमा विराटनगरमा गत जेठ २४ देखि २६ गतेसम्म आयोजना गरिएको १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशकै तेक्वान्दोतर्फ डोजाङकी खेलाडी देन्सु योगीले (४५ केजी तौल समूह ) रजत पदक प्राप्त गरेकी थिइन् । उनलाई मायाको चिनो ,नगद सहित सम्मान गरिएको थियो ।
विपन्न विद्यार्थीलाई पोशाक तथा खेलाडी सम्मानको व्यवस्थापन डोजाङकै सल्लाहकार संयोजक देवानले उपलव्ध गराएका थिए । डोजाङले विगत एकवर्षदेखि दमकका चार वटा विद्यालयमा तेक्वान्दो प्रशिक्षण गराउदैआएको छ । प्रशिक्षणमा करिव १५० जना विद्यार्थीहरु सहभागि छन् ।