झापा, २० वैशाख । विर्तामोडबाट प्रकाशित हुदैआएको पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई षष्टिका वस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
२५ हजार २५ रुपैयँँ पुरस्कार राशिको सो पुरस्कार भण्डारीलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संयुक्त रुपमा प्रदान गरे ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण र अग्रज पत्रकार सम्मान कार्यक्रमकाबीच भण्डारीलाई पुरस्कृत गरिएको थियो । भण्डारी सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका महासचिव समेत रहेका छन् ।विगत डेढ दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका भण्डारी राष्ट्रिय समाचार समिति र इमेज टेलिभिजनमा समेत आवद्ध छन् ।
यसैबीच एक लाख एक सय रुपैयाँ पुरस्कार राशिको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर वुढाथोकीलाई प्रदान गरिएको थियो । सो पुरस्कार मुख्यमन्त्री कार्की र बिराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले संयुक्त रुपमा कार्कीलाई प्रदान गरेका थिए । पुरस्कृत वुढाथोकी सूचनाको अभियन्ता हुन् भने उनी अन्नपूर्ण दैनिकमा आवद्ध छन् ।