गाईघाट, २२ फागुन । बोलेरो गाडीको ठक्करबाट उदयपुरको त्रियुगा मा बिहीबार साँझ एकैसाथ दिदीबहिनीको घटनास्थलमै मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा सप्तरी जिल्ला राजविराज घर भई त्रिनपा -१२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका छोरी १२ बर्षिया देवीकुमारी र १४ वर्षीया छोरी अनुकुमारी दास रहेका छन् ।
नगरपालिका वडा नं १२ डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको प्र.नं. १०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडीले बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसीरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि १४ वर्षीया अनुकुमारीलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा लगिएको थियो । उनलाई अस्पतालले मुत्यु भएको घोषणा गरेको थियो। सवारी चालक त्रियुगा नगरपालिका वडा नं ९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ।