इटहरी,२३ फागुन । रोकी राखेको बसको पछाडि ठोक्किएर सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।आज बिहान १.१० बजे सुनसरी गढी गाउँपालिका वडा न. ४ धुरा टोलस्थित छिटाहा– बिराटनगर सडकखण्डमा छिटाहाबाट साह टोल जाँदै गरेको प्र १–०२–०४५ प ५००१ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकी राखेको प्र २–०१–००१ क ००५१ नम्बरको बसको पछाडी ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी २५ वर्षका प्रमोदकुमार मेहता र पछाडि सवार अन्दाजी २२ वर्षका अरबिन्द मेहता घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाइएकोमा उपचारका क्रममा चालक प्रमोदकुमारको बिहान २;५० बजे मृत्यु भएको हो ।
अरबिन्दको नोबेल अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि बस र बस चालक सप्तरी डाकनेश्वरी नगरपालिका वडा नं. ९ बस्ने ४२ वर्षीय दिपककुमार मण्डललाई इलाका प्रहरी कार्यालय छिटाहाले नियन्त्रणमा लिएको छ ।
इलाममा एकजना मृत फेला
इलाममा एकजना मृत फेला परेका छन् । प्रहरीका अनुसार इलाम रोङ– ५ इरौटार बस्ने वर्ष ४० का लालबहादुर सुनुवार भनिने बसन्त सुनुवार मृत फेला परेका हुन् ।
इलाम– ९ फुलगाछी बस्ने गणेश घिमिरेको घरमा भाडामा बस्दै आएका सुनुवार कोठाभित्र चुकुल लगाई मृत अबस्थामा फेला परेका थिए ।प्रहरी टोली पुगेर ढोका फोरेर हेर्दा मुखबाट रगत निस्केको अबस्थामा सुनुवार ओछ्यानमा मृत भेटिएको प्रहरीले जनाएको छ ।