गौरीगञ्ज,११ माघ । झापा, गौरीगञ्जका पत्रकार मदन राजवंशीमाथि हातपात गरेको आरोपमा स्थानीय दुई जना युवा पक्राउ परेका छन् । गौरीगञ्जमा सञ्चालित आदिवासी जनजाति महोत्सवमा रिपोर्टिङ गर्न गएका राजवंशीलाई विहिबार राति १०.३० बजे केहि उच्छृङखल युवाहरुबाट हातपात भएको थियो । पीडित पत्रकार राजवंशीले इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि अनुसन्धानका लागि गौरीगञ्जका एकराज चम्लागाई र सन्तोष कार्कीलाई शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पत्रकार राजवंशीले खजुरगाछी साना किसान कृषि सहकारी संस्थामा रकम अपचलनको समाचार लेखेको बिषयलाई लिएर द्धय युवाको समूहले हातपात गरेको जाहेरीमा उल्लेख छ । राजवंशी गौरीगञ्ज दर्पण अनलाईनका अध्यक्ष तथा प्रधान सम्पादक हुन् ।
यसैबीच , पत्रकार राजवंशीमाथि भएको घटनाको नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकले निन्दा गरेको छ । यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु पौडेलले शुक्रवार विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।यसैगरि, प्रेस चौतारी झापाले पनि पत्रकार राजवंशी माथि भएको आक्रमणको निन्दा गरेको छ ।