गौरीगञ्ज,११ माघ । समाचार लेखेको विषयलाई लिएर झापा गौरीगञ्जका पत्रकार मदन राजवंशीमाथि हातपात भएको छ । गौरीगञ्जमा जारी आदिवासी जनजाति महोत्सव अन्तर्गत गएराति १०.३० बजे अनलाइनबाट सांगीतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका राजवंशीमाथि हातपात भएको हो । खजुरगाछी साना किसान कृषि सहकारी संस्थामा रकम अपचलनको समाचार लेखेको बिषयलाई लिएर एक समूहले हातपात गरेको बताइएको छ । राजवंशी गौरीगञ्ज दर्पण अनलाईनका अध्यक्ष तथा प्रधान सम्पादक हन् ।
यसैबीच , पत्रकार राजवंशीमाथि भएको घटनाको नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समिति दमकले निन्दा गरेको छ । यूनियनका क्षेत्रीय अध्यक्ष विष्णु पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन र पत्रकार राजवंशीसँगै खजुरगाछी साना किसान सहकारी पीडितहरुलाई न्याय दिलाउन माग गरेका छन् ।