दमकमा अंग्रेजी भाषा शिक्षकहरुको प्रदेश सम्मेलन हुदैं

दमक,१२ कार्तिक । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)ले दमकमा यहि कार्तिक २४ र २५ गते अंग्रेजी भाषाको अध्यापन गराउने शिक्षकहरुका लागि कोशी प्रदेश स्तरिय सम्मेलन गर्ने भएको छ ।
शैक्षिक क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय बिषय विज्ञहरुबीच विश्व भाषाका रुपमा रहेको अंग्रेजी बिषयमा बहस र अन्तरक्रियासहितको यस किसिमको सम्मेलन झापामा पहिलो पटक आयोजना गर्न लागिएको आयोजक संस्थाको दावी छ ।
नेल्टाले सोमबार दमकमा पत्रकार भेटघाट गरि सम्मेलनका बारेमा सम्मेलनको तयारीका बारेमा जानकारी दिएको हो । दमकको सिद्धार्थ अंग्रेजी बोर्डिङ स्कूलमा हुने सम्मेलनमा कोशी प्रदेश भरिका अंग्रेजी भाषाका शिक्षक ,विद्यार्थीहरु गरि करिव ६ सय जनाको सहभागिता रहने नेल्टा कोशी प्रदेश समितिका अध्यक्ष गुणराज नेपालले जानकारी दिए । सम्मेलनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम तय गरिएको छ ।
सम्मेलनमा दमक नगरपालकाका नगर प्रमुख रामकुमार थापा, काठमाडौं विश्व बिद्यालय शिक्षा संकायका डिन प्रा.डा. बालचन्द्र लुइँटेल, नेल्टाका केन्द्रीय अध्यक्ष प्रा.डा लक्ष्मण ज्ञवाली, अमेरिकी दुतावासको क्षेत्रीय अंग्रेजी भाषा विभाग प्रमुख रोजर अफ कोहेन, युकेबाट फोनेक्स केनी, नेल्टाका पूर्व अध्यक्ष सहप्राध्यापक मोतिकला सुब्बा, काठमाडौं विश्व बिद्यालयका सहप्राध्यापक हेमन्तराज दाहाल लगायतले सम्बन्धित बिषयमा आआफ्नो धारणा राख्नेछन् ।
पत्रकार सम्मेलनमा नेल्टा कोशीका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले शिक्षण सिकाई सन्दर्भहरुको पारिस्थितिक तत्वहरुको खोज गर्दै शिक्षकहरुलाई प्रोत्साहित गर्न, समावेशी सिकाई वातावरण सिर्जना गर्न र बिद्यार्थीहरुको अंग्रेजी भाषा सिकाईलाई नयाँ विधिको प्रयोग गरी उपलब्धिमूलक र सशक्त बनाउन यस कार्यक्रमले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको उनले जनाए ।
अन्तरक्रियात्मक कार्यशालाहरु प्राथमिक तहदेखि विश्व बिद्यालय सम्मका अंग्रेजी भाषा अभ्यासकर्ताहरुको प्रस्तुतिकरण प्रमुख आकर्षकका रुपमा रहनेछ । यसले अध्ययन अनुसन्धानका बिषय प्रस्तुतिकरण मार्फत अंग्रेजी भाषाको क्षेत्रमा कार्यरत पेशाकर्मीहरुलाई समालोचनात्मक तथा सिर्जनात्मक सोच विकास गर्न सहयोग पुग्ने पनि आयोजकले विश्वास लिएको छ ।
सम्मेलनमा सहभागिताका लागि हरेक पालिका मार्फत शिक्षा शाखाले सम्बन्धित पालिकामा रहेका सामुदायिक , निजी तथा संस्थागत बिद्यालयहरुबाट सहभागिहरु पठाइदिन आग्रह गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेल्टाका महासचिव रविन्द्र बराल,नेल्टाका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.