कमलका ८८० परिवारलाई निशुल्क स्वास्थ्य बिमा

दमक, २२ असार । झापाको कमल गाउँपालिकाले दुई वर्षको अवधिमा ८८० घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । पालिकाले वडाका अति विपन्न परिवारको स्वास्थ्य बिमामा पहुँच अभिबृद्धि गर्न स्वास्थ्य बिमा सहयोग कार्यक्रम मार्फत गएको वर्ष ५०५ घरपरिवारको र चालु आर्थिक वर्षमा ३७५ जना घरपरिवारको निशुल्क बिमा गरिदिएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले वडातहमा जनसंख्या,वडाका सामाजिक सुरक्षा भत्ता नलिएका तथा विपन्न ,दिर्घरोगीहरुलाई प्राथमिकता दिई वडाबाट आएका लक्षित समुदायलाई बिमामा सहयोग प्रदान गरिएको अध्यक्ष हुकुमसिंह राईले बताए । उनका अनुसार चालु वर्षमा पालिकाका ७ वडा मध्ये कमल १ ,२ ,६ र ७ का ५४ घरपरिवार र ३,४ र ५ का ५३ घरपरिवारको निशुल्क स्वास्थ्य बिमामा समेटिएका छन् । यसवर्ष पालिकाले निशुल्क स्वास्थ्य बिमाका लागि रु १३ लाख १२ हजार ५ सय रुपैया वजेट बिनीयोजन गरेको थियो ।
यसैगरि आर्थिक वर्ष २०८१-०८२ मा पालिकाले सोहि कार्यक्रमका लागि रु ११ लाख ८६ हजार ५ सय रुपैया छुट्याएको छ । त्यस कार्यक्रमबाट ३३९ घरपरिवार समेटिने पालिकाले जनाएको छ ।
लक्षित समुदायहरु सो कार्यक्रमबाट बिमामार्फत स्वास्थ्य उपचारमा प्रत्यक्ष रुपमा लाभान्दित भएको कमल गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपक दाहालले बताए । पालिकाले दुई वर्ष अघि क्याम्पामा स्वास्थ्य बिमासहितको कमलनगर अस्पताल सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published.