झिलझिले, २१ जेठ । नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई झापाको शिवसताक्षी–११ झिलझिलेमा नगदसहित सम्मानित भएकी छन् ।किराँत राई यायोक्खा, शिवसताक्षी नगर समितिसहितका आधा दर्जन संस्थाले सामूहिक रुपमा उनलाई नगद रु ५५ हजार र सम्मानपत्रसहित सम्मानित गरिएको हो ।
यायोक्खाले आइतवार झिलझिलेमा आयोजना गरेको उभौली साकेलाको अवसरमा राईलाई यायोक्खा शिवसताक्षी नगर समितिले रु ३८ हजार ७ सय, शिवसताक्षी–८ नम्बर वडा कार्यालयले नगद रु १५ हजार तथा सम्मानपत्रसहित सम्मानीत गरिएको थियो । सोहि अवसरमा सतासीधाम जेसीज र नगर खेलकुद विकास समिति शिवसताक्षीले समेत नेपाली महिला फूटवलको क्षेत्रमा योगदान पुरयाँएको भन्दै उनलाई सामूहिक रुपमा सम्मान प्रदान गरिएको थियो ।
राष्ट्रिय महिला फुटबलकी मिडफिल्डर राईले अन्तराष्ट्रिय खेलमा देशकै प्रतिनिधित्व गरि उत्कृष्ठ प्रर्दशन गरेर चर्चा कमाएकी थिइन् ।
यायोक्खा शिबसताक्षीका अध्यक्ष पशुराम रिङगालुङ राईको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार उमेश राई (फुलेन्देकी आमा) र गायिका सुनिता थेगिमले साँगीतिक प्रस्तुति दिनुका साथै स्थानीय साकेला टोलीहरुले आ–आफ्नो शिली (नृत्य) समेत प्रस्तुत गरेका थिए ।