फरक ढंगको बिकासको अभ्यासमा छौं : मुख्यमन्त्री कार्की

शिवगञ्ज,२० बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढंगका बिकासको अभ्यास गर्न लागिपरेको बताएका छन् ।झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ को वडा कार्यालयको नवनिर्मित भवन उदघाटन तथा जग्गादाताहरुलाई सम्मान कार्यक्रममा आज बोल्दै उनले वर्तमान कोशी प्रदेश सरकारले बिकासमा नमुना कामको थालनी गरेको जोड दिए ।
भौतिक पूर्वाधारको बिकासलाई मात्रै बिकास ठान्ने परिपाटीले समाजमा ठुलो समस्या उत्पन्न गराएको भन्दै मुख्यमन्त्री कार्कीले भने,–‘ मानवीय सम्वेदना र सामाजिक मूल्य मान्यतासहितको बिकासमा हामी निकै पछि परेका छौ, यसतर्फ पनि प्रदेश सरकार गंभीर छ ।’
राजनीतिक बिषयलाई थाती राखेर बिकासका मुद्धामा आफ्ना भनाईहरु केन्द्रित गरेका कांग्रेस नेता समेत रहेका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले शुरु गरेको बालबालिकाको निशुल्क उपचार सम्बन्धिको कार्यक्रमबारे आफ्नै पार्टीका कतिपय नेताहरु र मानवीय संवेदनालाई भोट माग्ने आधार बनाउने मानिसहरुले आलोचना गरेको भनि असन्तुष्ट व्यक्त गरे । मुख्यमन्त्री कार्कीले भने, –‘अस्पतालमा जन्मिएको बच्चालाई घर लैजानुपर्नेमा घाट लानुपर्ने अवस्थाको अन्त्य गर्न चाह्यौं, बच्चा जन्मिएपछि ऋण काढ्न साहु महाजनका घरमा , नेताका घरमा हारगुहार माग्न जानुपर्ने बाध्यताको अन्त्य चाह्यौं उनीहरु यहाँ त्यही कारणबाट आफ्नो भोट घट्ने भो भनेर छटपटाइरहेका छन् । ’
उनले हरेक पालिकाबाट एक जना बालीविज्ञान र पशु विज्ञानको अध्ययन गरेर पालिका पालिकामै डाक्टर उत्पादन गरी दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक बिषयको पढाईमा अनुदान दिने कार्यक्रम अघि बढाएको, हात्ती प्रभावित क्षेत्रमा लगाइने कृषि बालीको बीमा गरिदिने जस्ता कार्यक्रमहरुसहितको बजेट कार्यक्रम ल्याउने प्रदेश सरकारको तयारी रहेको उल्लेख गरे ।
कागजी दस्तावेज मिलाएर त्यसैका आधारमा सरकारको अनुदान दुरुपयोग गर्ने अभ्यासले समग्र व्यवस्थाप्रतिनै निराशा पैदा गराइरहेको भन्दै उनले त्यस किसिमका भ्रष्टाचारमा सहयोग पुग्ने खालका कार्यक्रमहरुलाई प्रदेश सरकारले निस्तेज गर्ने स्पष्ट पारे ।
सो अवसरमा उनले वडा कार्यालयका लागि जग्गादान गर्ने जग्गादाताहरु सुरज राजवंशी, दुर्गाप्रसाद गुरागाइँ, चन्द्रमणी पौडेल र देवनारायण भण्डारीलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरे । दाताहरुले संयुक्त रुपमा ११ कठ्ठा जमीन निशुल्क उपलव्ध गराएका थिए । वडा कार्यालय लामोसमयदेखि भाडाको घरमा सञ्चालन हुदैआएको थियो । वडाले आफनै भवन तयार गरेपछि दैनिक कार्यसञ्चालनमा सेवाग्राहीलाई सुविधा पुग्ने शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलालले बताए ।
सो अवसरमा वडाध्यक्ष खुलालले मुख्यमन्त्री कार्कीलाई समग्र वडाका तर्फबाट मागपत्र बुझाएका थिए ।कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की,कांग्रेस झापाका सभापति देउकुमार थेवेले पनि बोलेका थिए ।

 

Leave a Reply

Your email address will not be published.