दमक,६ चैत । दमक -८ स्थित झापा मोडल अंग्रेजी बोर्डिङ स्कूल (जेम्स ) ले राष्ट्रिय स्तरमा पदक जितेका आफना दुई जना विद्यार्थीलाई अभिनन्दन गरेको छ ।बिद्यालयको सभाकक्षमा आज आयोजना गरेको कार्यक्रममा राष्टियस्तरको प्रतियोगिताका विजेता कक्षा ९ मा अध्ययनरत प्रतिक खनाल र कक्षा १२ की श्रेया पौडेललाई अभिनन्दन गरेको हो ।
प्रतिकले लियो क्लव अफ काठमाण्डौं सौहार्दले आयोजना राष्ट्रिय स्तरको वक्तृत्वकलामा प्रथम बनेका थिए । त्यस्तै, श्रेयाले राष्ट्रिय सेवा दल ( एनसीसी ) व्याच १८ ले आयोजना गरेको राष्ट्रिय स्तरको वक्तृत्वकलामा द्धितीय स्थान प्राप्त गरेकी थिइन् । उनीहरुलाई दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटट्राई (प्रसाइँ)को प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा मोरङको याङसिलास्थित पूर्वी तालीम केन्द्रका प्रमुख राजकुमार बस्नेत, बिद्यालयकी अध्यक्ष सलुजा श्रेष्ठ, नगरपालिकाका शिक्षा समितिका संयोजक तथा दमक ९ का वडअध्यक्ष कुबेर भट्टराई लगायतले सम्मान गरे । सो अवसरमा नगर उपप्रमुख भट्टराईले स्थानीय सरकार सामुदायिक र निजी बिद्यालयबीचको सहकार्यमा शिक्षा बिकासलाई अघि बढाउन चाहिरहेको बताइन् । शिक्षामा व्यवसायसँगै सेवाको भावना समेत हुनुपर्ने उनले बताइन् ।
सो अवसरमा बिद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले अहिलेको युगमा किताबी शिक्षाले मात्रै बालबालिकाहरुको सिकाई प्रभावकारी नहुने भएकाले विद्यालयले गुणस्तरिय शिक्षासंगै आवश्यक अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको उल्लेख गरे ।
त्यसैगरि, दुई वर्ष अघि राष्ट्रिय सेवा दलले आयोजना गरेको राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी जेम्सकै कक्षा १२ मा अध्ययनरत कृतज्ञता थापाले आफनो अनुभव सुनाएकी थिईन् । कार्यक्रममा यसअघि बर्दिबासमा भएको एनसीसीको एक सय दिने तालीममा सहभागी भएका ३६ जना एनसीसि क्याडर्सलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
स्कूलका विद्यार्थीद्धय गरिमा रिमाल र अभिमन्यु चापागाईले सञ्चालन गरेको सो कार्यक्रममा दमक जेसीजका अध्यक्ष आरसी अधिकारी, अभिभावकहरु, स्कूलका शिक्षक,शिक्षिकाहरु लगायतको उपस्थिति रहेको थियो ।
