पथरी ,४ चैत । मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।
मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।
रङ्गेलीमा आगलागी २० घर जले
मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी भएको छ। आगलागीबाट उक्त टोलका २० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।शनिबार दिउँसो अढाई बजेतिर आगलागी हुँदा सन्थाल समुदायका २३ परिवारका २० वटा घर जलेर नष्ट भएको हो। बाक्ला घर भएका कारण धेरै वटा घर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ।
फुसका घर र पश्चिमबाट हवा चलेका कारण बस्तीमा चाँडै आगो सल्किएको थियो। कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा नगरपालिका, विराटनगर महानगरकासहित ७ वटा वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शनिबार साँझ आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता रञ्जन दाहालले जानकारी दिए।चौपाया र मानवीय क्षति नभएको दाहालले बताए। आगलागीबाट भएको धनमालको क्षतिको विवरण भने आइ नसकेको उनले जानकारी दिए।
हतुवागढीमै पुनः तीन जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।
आगलागीमा परेर तीन बालबालिकाको मृत्यु
भोजपुरकै हतुवागढी ७ पिप्लेमा शनिवार भएको आगलागीमा परी ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की गरि तीन जनाको मृत्यु भएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने केदारका भाइ रमेश कार्कीका छोरी दीपशिखा र दियुनिष रहेको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरूको मृत्यु भएको जानकारीमा आएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिए ।