दमक,१८ फागुन । दमक–७ पशुहाटमा आजदेखि तेश्रो याक्थुङ साम्लो महोत्सव २०८० सञ्चालन हुदै छ । आज र भोलिसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक फक्ताङलुङ साँस्कृतिक मञ्च ललितपुरले जनाएको छ । बिहीवार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी तयारी सकिएको जानकारी दिएको हो ।
किरात याक्थुम चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा हुने आजको उद्घाटन पूर्व विहान दमकमा माङलाङ, केलाङसहितको रयाली निकालिने मञ्चका अध्यक्ष तथा कार्यक्रम संयोजक पूर्ण कुमार सेर्मा यादनले जानकारी दिए ।
महोत्सवको पहिलो साँझ पालाम, हाक्पारे, ख्याली र धान नाँचको साथमा ख्यातिप्राप्त कलाकारहरु दिपक लिम्बू, मनु नेम्बाङ, ताराप्रकाश लिम्बू, शाहिल लिम्बू, गोविन्द लिम्बू, नोगेन लिम्बू, रुक्शाना लिम्बू, एकान्त लिम्बू र अन्य कलाकारले सांगीतिक प्रस्तुतिदिने बताइएको छ।
“याक्थुङ साम्लो साम्लोरिलो, साम्लोइ लोइ लाम्लोरिरो” मूल नारासहित सञ्चालन हुन महोत्सवको मुख्य उदेश्य लिम्बू समुदायभित्रको लोपन्मुख, गीत संगीत र कलालाई उजागर गर्दै यसको उत्थान, संरक्षण र सम्वर्द्धन गर्न यस किसिमका कार्यक्रम गरिआएको उनले बताएका छन् ।
महोत्सवमा १९ गते भने याक्थुङ साम्लोमा माङसिवाखाहुन र लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के विषयक दुईवटा कार्यपत्र दमकको किरात भवनमा प्रस्तुत हुनेछ ।यसअघि हाक्पारे पालाम महोत्सव भनेर पहिलो पटक पाँचथरको फिदिम र दोस्रो तेह्रथुमको म्याङलुङमा सम्पन्न भएको थियो ।हाक्पारे पालाम महोत्सव नामले हाक्पारे र पालामलाई मात्र समेट्ने हुँदा व्यापक बनाउन तेस्रो संस्करणका रुपमा साम्लो महोत्सव आयोजनमा गरिएको आयोजकको जिकिर छ ।