दमक,२७ असोज । दमकमा भोलि आइतवारदेखि दोस्रो रोयल महिला फुटबल प्रतियोगिता शुरु हुने भएको छ । दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगिता कार्तिक ५ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
क्लबले शनिवार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको क्लवका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए ।‘मेरो गोल महिला हिंसाविरुद्ध बोल’ भन्ने नाराका साथ आइतबारदेखि शुरु हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउने खेल संयोजक राजु खड्काले जानकारी दिए ।
प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सिएफसी काठमाडौं, धरान महिला फुटबल क्लब सुनसरी, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका, बिवाइसी इलाम, बसाह फुटबल क्लब उदयपुर र आयोजकले सहभागिता जनाउने छन् ।
प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र विधागततर्फ वोमेन अफ द म्याच, बोल्डन बल अवार्ड, गोल्डेन बुट अवार्ड ,गोल्डेन ग्लोभ्स अवार्ड र रोयल वेष्ट राईजिङ प्लेयर अवार्डबाट उत्कृष्ठ हुने एक ,एक जना खेलाडीलाई समेत जनही नगद २ हजार तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक खड्काले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख ७५ हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।क्लबले यसअघि २०७८ मा पहिलो महिला फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसपछि यस प्रतियोगिता सञ्चालन हुन सकेको थिएन् ।प्रतियोगिताको प्रमुख प्रायोजक नेपाल बेसबल महासंघका केन्द्रीय सदस्य समेत रहेका दुवईमा बस्दैआएका युवा व्यवसायी विवेक सुवेदीले रु १ लाख प्रदान गरेका छन् ।
भोलि शुरु हुने प्रतियोगिताको पहिलो खेल नवबुद्ध फूटवल क्लव सप्तरी र सीएफ सी काठमाडौवीच प्रतिष्पर्धा हुने छ । दिउँसो ३ वजे शुरु हुने प्रतियोगिताको दमक नगर प्रमुख रामकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।