ईलामको चुलाचुली गाउँपालिकाले बुहारीहरुलाई पढाउँदै

चुलाचुली, २४ असोज । इलामको चुलाचुली गाउँपालिकाले बुहारीहरुलाई निशुल्क पढाउन थालेको छ । गएका वर्षदेखि बुहारी शिक्षा कार्यक्रम नै सञ्चालन गरेर सो गाउँपालिकाले बाहिरबाट विवाह गरेर आएका बुहारीलाई निशुल्क उच्च शिक्षा दिन थालेको हो ।
शिक्षाको बुहारीहरुको समेत पहुँचमा पुरयाँउन पालिकाले कमजोर आर्थिक अवस्था भएका घरका बुहारीलाई आफनै खर्च ब्यहोरेर पढाउन थालेको पालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । विवाह गरेर श्रीमानको घर आएका महिलालाई आर्थिक अवस्थाका कारण थप शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए । गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको भन्दै अध्यक्ष केरुङले बिद्यालयलाई निशुल्क बस वितरण, बिद्यालयमा पढ्दै कमाउँदै जस्ता शिक्षाको बिकाशका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे ।
गाउँपालिकाको सहयोगबाट एसएलसी पास गरेको अठार बर्ष पछि पढ्न पाउँदा खुशी लागेको वडा नम्बर २ बाह्रगोठेमा रहेको जनता माध्यमिक बिद्यालयमा अध्ययन गरिरहेकी कमला भट्टराई ढुंगानाले बताईन् । पढ्ने रहर हुँदा हुँदै विवाह भएर आउनु परेको र आर्थिक अवस्थाका कारण पढ्ने रहर पूरा नभईरहेका बेला गाउँपालिकाको बुहारी शिक्षा कार्यक्रमबाट आफ्नो रहर पूरा भएको उनले सुनाईन् ।
पढ्ने रहर पूरा नभएका बुहारीहरुको पढाईको जिम्मा अब गाउँपालिकाले लिने गाउँपालिकाको शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.