दमक,२ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आज दमकका समुदायिक बिद्यालयबाट सेवा निबृत्त भएका ७ जना शिक्षक र गतबर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने ६ जना बिद्यार्थीहरुलाई सम्मान गरेको छ ।
दमक नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आज भएको कार्यक्रममा शिक्षक र बिद्यार्थीहरुलाई सामूहिक रुपमा सम्मान गरिएको हो ।
शिक्षा युवा तथा खेलकुद समितिका संयोजक तथा दमक ९ का वडाअध्यक्ष कुवेर प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सेवा निवृत हुने पाणीनि माविबाट दुर्गा काफ्ले, चुलाचुली माविबाट होमनाथ ढकाल, ढुकुरपानी माविबाट नेत्रप्रसाद अधिकारी र हेमराज खड्का, पृथ्वी माविबाट डम्बर कुमार राई, सिंहदेवी माविबाट सरस्वतीप्रसाद उपाध्याय र पशुपति संस्कृत माविबाट देवीकुमार रिजाललाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीहरु एभरेष्ट बोर्डिङ स्कुलबाट विवेक थापा, हिमालय माविबाट स्वस्तिका श्रेष्ठ ,आदित्य वस्ती र ग्लोबल बोर्डिङ स्कुलबाट सृजना श्रेष्ठ साथै फरक क्षमता भएका उत्कृष्ट सरस्वती माविबाट निर्मला कार्की र ग्लोबल बोर्डिङ स्कुलबाट भाष्करदेव राईलाई जनही नगद रु ११ हजार रुपैयाँ सहित प्रमाणपत्रबाट सम्मान गरिएको दमक नगरपालिका शिक्षा शाखाका अधिकृत प्रविण खड्काले जानकारी दिनुभयो ।
सेवा निवृत शिक्षकसहित जेहेन्दार विद्यार्थीहरुलाई सम्मान गदैं नगर प्रमुख रामकुमार थापाले जेहेन्दार बिद्यार्थीलाई हौसला तथा सेवा निवृत्त शिक्षकले लामो समय सेवा गरेको भन्दै नगरपालिकाको सानो सम्मान गरिएको बताएका थिए ।
कार्यक्रममा नगर उप प्रमुख रेगिना भट्टराईले बिद्यालय शिक्षा सक्ने बित्तिकै अहिले बिदेश जाने क्रम चलेको भन्दै यसलाई रोक्नु पर्ने औल्याईन् । उनले सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गर्दै बाँकि रहेको जीवन समाजमा समर्पित गर्न आग्रह गरिन् ।
कार्यक्रममा सम्मानितहरुको तर्फबाट सिंहदेवी माविका सेवा निवृत शिक्षक शारदाप्रसाद उपाध्याय लगायतले लामो समयसम्म बिद्यालयमा काम गर्दाको सम्झना स्वरुप कविता मार्फत आफ्ना भवाना राखेका थिए ।