झापा, ४ भदौ । झापाको बुद्धशान्तिस्थित जयपुर बुधबारे –सडक खण्डमा स्कूलबसको ठक्करबाट घाईते बालिकाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ ।सो सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे. १ क ८६० नम्बरको कर्णाली एजुकेसन फाउन्डेसनको स्कूल बसले सोही दिशातर्फै जाँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी ८ बर्षीया समिक्षा बस्नेतको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।
बुद्धशान्ति गाउँपालिकास्थित कर्णाली एजुकेसन फाउन्डेसनको बसले आइतबार ठक्कर दिँदा बस्नेत परिवारका तीनजना घाइते भएका थिए । दुर्घटनामा समीक्षासँगै घाईते ५३ बर्षिया आमा रिता बस्नेत र ५ वर्षीय भाइ सन्दीप बस्नेतको भने अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । रिताको बाँयापट्टी कम्मरमा र सन्दीपको बाँयाखुट्टामा चोट लागेको छ। प्रहरीले दुर्घटनामा संलक्ष्न बस चालक बुद्धशान्ति–१ का ३५ वर्षीय मदन घिमिरेलाई इलाका प्रहरी कार्यालय बुधबारेले हिजो नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।