उर्लावारी,२ भदौ । मोरङको उर्लाबारी र उदयपुरको चोैदण्डीमा हिजो भएको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको उर्लाबारी नगरपालिका–३ मा पूर्वतर्फ जाँदै गरेको मे १ ख २४२३ नम्बरको बसमा सोही दिशातर्फ जाँदै गरेको को १३ प ६१३० नम्बरको मोटरसाइकल पछाडिबाट ठक्कर खाई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक झापा, कमल गाउँपालिका–१ का ४३ वर्षीय गोपाल प्रसाद पौडेलको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर मङ्गलबारेमा मृत्यु भएको छ ।
त्यसैगरी उदयपुरको चौदण्डिगढी नगरपालिका–१० स्थित मदन भण्डारी स्मृति लोक राजमार्गमा गाईघाटबाट बेल्टारतर्फ आउँदै गरेको ना. ६ त ६६१८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषा जिल्लाको मिथिला नगरपालिका–११ का १७ वर्षीय सुरज मगरको उपचारको क्रममा धरानको घोपा क्याम्पमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।