पाँचथर,९ साउन । मेची राजमार्गको पाँचथर खण्डमा हिजो दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परेर घाईते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा फिदीम नगरपालिका वडा नं १० याङ्नामकी ३५ वर्षिया सविना विक रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको हिजो बेलुका ७ बजेतिर उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो ।
दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका -१ ढुङगेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको भने हिजोनै पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे१ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको हो । ओरालो बाटोमा ब्रेक नलागेर गाडी भीरतिर खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनामा १३ जना घाइते भएका थिए । घाइतेमध्ये बिर्तामोडको बीएण्डसी हस्पिटलमा ६ र बिर्तासिटी हस्पिटलमा ४ जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।