दमक,९ साउन । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईलाई डेंगु संक्रमण भएको छ । सरकारी स्वामित्वको कमल नगर अस्पतालमा मंगलबार गरिएको स्वास्थ्य परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएको हो ।
दुई दिनदेखि उच्च ज्वरो आउने र टाउको दुख्ने लक्षण देखिएपछि अध्यक्ष राई मंगलबार दिउँसो क्याम्पास्थित कमल नगर अस्पतालमा परीक्षणका लागि गएका थिए । अध्यक्ष राईले स्वास्थ्य बीमा कार्डको प्रयोग गरी अस्पतालबाट सो सेवा लिएका हुन् ।
राईले सरकारी स्वामित्वको सो अस्पतालको सेवाप्रति सर्वसाधारण नागरिकहरुको विश्वास बढाउन पालिकामा सञ्चालित अस्पतालमै स्वास्थ्य परीक्षण गराई आवश्यक उपचार सेवा समेत लिइरहेका छन् । अध्यक्ष राईको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।अध्यक्ष राईले भने–‘अस्पतालको सेवाप्रति हामी विश्वस्त छौं र आम कमलबासीलाई विश्वस्त भएर सेवा लिन अपिल गरेका छौं ।’ अध्यक्ष राईले स्वास्थ्य परीक्षण पश्चात आफनो अवस्थासँगै अस्पतालको सेवाबारे नागरिकहरुलाई सुसुचित भई आवश्यकता अनुसार सेवा लिन अपिल पनि गरेका छन् ।
गाउँपालिकाका स्वास्थ्य निरीक्षक दिपक दाहालका अनुसार सो गाउँपालिका अन्तर्गतको कमल नगर अस्पताल र लखनपुर स्वास्थ्य चौकीमा डेंगु परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य विभागको सर्कुलर अनुसार दैनिक डेंगु संक्रमितको तथ्याङक उपलब्ध गराउन भनिएको पनि निरीक्षक दाहालले बताए ।
उनले पालिकामा डेंगु संक्रमणबाट जोगिन आवश्यक जनचेतना अभिवृद्धी तथा सरसरफाई सम्बन्धि सचेतनामा जोड दिँदै बुधबार केर्खामा डेंगु लगायतका किटजन्य रोगको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिने जानकारी दिए ।
अस्पतालमा उपचारको आर्कषण
गाउँपालिकाले सञ्चालन गरेको कमलनगर अस्पतालमा सर्वसाधारणले सहज ढंगले उपचार सेवा पाउर्दै आएका छन् । अस्पतालमा दैनिक सयको संख्यामा स्थानीय सेवाग्रहीले स्वास्थ्य सेवा लिदैआएको अस्पताल प्रशासनले जनाएको छ ।
बिमासहित सो अस्पतालमा डा.फूलकचन्द्र लावतीसहितका दैनिक बिशेषज्ञ चिकित्सकको सेवा उपलव्ध छ । आकस्मिक बाहेक दैनिक ओपीडी, ल्याव,एक्सरे, भिडीयो एक्सरे ,नियमित स्वास्थ्य कार्यक्रमसहित फार्मेसी सेवा समेत उपलव्ध रहेको पालिकाका मेडिकल सुपरिडेन्ट टिकाराज बर्देवाले बताए । अस्पतालमा सुरक्षित प्रसुति सेवा पनि सञ्चालन छन् । बर्देवाले छोटो समयमा नै यस अस्पतालले यहाँका विरामीको आर्कषण केन्द्र बन्दै गएको बताउँछन् । अध्यक्ष ज्यू मात्र होइन,यहाँका जनप्रतिनिधि,सर्वसाधारण सेवाग्रहीले उपचार सेवा लिदैआएको उनको भनाई छ ।