दमक ,१९ जेठ । कमल गाउँपालिकाका सामुदायिक विद्यालयमा सञ्चालित निशुल्क दन्त तथा आखाँ शिविरबाट २१ सय बढी विद्यार्थीहरु लाभान्दित भएका छन् ।पालिकाको स्वास्थ्य शाखाले गत जेठ ११ गते देखि १८ गतेसम्म सञ्चालन भएको ती शिविरबाट विभिन्न ६ वटा विद्यालयका २१५८ जना विद्यार्थीहरुले सेवा पाएका हुन् ।
स्वास्थ्य शाखाका कर्मचारी दिपक दाहालका अनुसार विद्यार्थीहरुलाई लक्षित आँखा तथा दाँत सम्बन्धि निशुल्क स्वास्थ्य परीक्षणमा १२०१ जनाको डेन्टल क्यारिज भेटिएको र ८४ जनाको दाँत त्तत्कालै सुरक्षित तवरले निकालिएको थियो ।
यस्तै, आखाँतर्फ १ जनामा मोतियाबिन्दु फेला परेको थियो भने १५९ जनाको रिफ्राटिक इरोर भएको पाईएको उनले बताए । शिविर ११ गते महेन्द्ररत्न,१२ गते बाँसबारी मावि,१४ गते शहिद धर्मभक्त मावि ,१६ गते ज्योति मावि, १७ गते मंगलमय मावि र १८ गते कमल ६ स्थित वाणी माविमा सञ्चालन गरिएको थियो । १९ गते कमल ७ मा आयोजना गर्ने भनिएको शिविर भने विदाका कारण स्थगित भएको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखाको बार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित शिविरमा दमकको ओमशान्ति डेन्टल र विर्ताज्योति आखाँ अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।
कमल अस्पतालमा प्रसुति सेवा
असोजदेखि सञ्चालनमा आएको कमल नगर अस्पतालमा प्रसुति सेवामार्फत एक जना महिलाले बच्चा जन्माएकी छन् । चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले सुरक्षित तबरले डेलीभेरी गराउन सफल भएका हुन् ।
दुई दिन अघि डेलीभेरी गरिएकी ती सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य छ । अस्पतालमा पहिलोपटक यस किसिमको सेवा सफलता पूर्वक गराएको अस्पताल प्रशासनले जनाएको छ । यसैवीच , पालिकाले सुरक्षित प्रसुति सेवा पुरयाँउन निशुल्क एम्बुलेन्स समेत सञ्चालन गरिआएको छ । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखामार्फत पालिकाले पालिका भित्रका त्यस्ता लक्षित महिलालाई अस्पताल आउजाउ गर्न चालुवर्षदेखि निशुल्क एम्बुलेन्स सञ्चालन गरिआएको पालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।