ओलीको गृहनगर दमकमा कांग्रेसी विद्यार्थी संगठन विजयी

दमक, ६ चैत । नेकपा एमालेका अध्यक्ष तथा क्षेत्र न. ५ का संघीय सांसद केपी शर्मा ओलीको गृहनगरमा रहेको दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । आज राति १०.४० वजे सम्पन्न अन्तिम मतपरिणाम अनुसार सभापतिमा नेविसंघका सोबिम न्यौपाने विजयी भएका हुन् ।
उनले १०४३ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्दी नेकपा एमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य समेत रहेका निशेष राईले ९३४ मत प्राप्त गरेका थिए । यससंगै नेविसंघले विगत तीन पटकको स्ववियूमा आफनो जितलाई कायम राख्न सफल भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्ववियू सचिव पदमा नेविसंघका दिपक लिम्बूले १०५७ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी अनेरास्वियूका रबिन ढकालले ८४१ मत प्राप्त गरे । कोषाध्यक्षमा भने अखिल क्रान्तिकारीकी उमा राई विजयी बनेकी छन् । उनले १०५७ मत पाउँदा उनका प्रतिद्वन्द्वी रबिन अधिकारीले ८५७ मत पाएकाछन् । यसैगरि, खुला सदस्यतर्फ दुवै प्यानलका ४ र ४ जना विजयी भएका छन् ।
नेविसंघ प्यानलबाट सायन राई (१००४ ), हेमन्त सिटौला (९४८ ) ,सविन गौतम (९६९ ) र हिमांसु जयसवाल (९४७ ) मत ल्याई विजयी भए भने अनेरास्ववियू प्यानलबाट संजय राई (९२३ ), अनिस राई (९४६ ), भिष्महाङ सम्बाहाम्फे (९१९ ) , निसाम अधिकारी ( ९२९ ) विजयी भएका छन् ।
क्याम्पसमा ३३ सय ८ मतदाता रहेकामा २ हजार ५२ मत खसेको थियो । निर्वाचनमा नेविसंघसहित जसपाको समाजवादी विद्यार्थी युनियन, नेकपा (एकिकृत समाजवादी ) निकट अनेरास्ववियु ,अनेरास्ववियु अखिल छैठौ र नेकपा (विप्लव ) निकटको अनेरास्ववियु (क्रान्तिकारी ) को संयुक्त गठबन्धन थियो भने एमाले अनेरास्ववियूहित माओवादी निकट अखिल, राप्रपा निकट राप्रविसंगठनवीच गठबन्धन बनेको थियो ।यसैवीच, स्ववियूमा पुनः आफनो जित निकालेको खुसीयालीमा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, दमक नगरपालिकाकी उपप्रमुख तथा कांग्रेस कोशी प्रदेश सदस्य रेगिना भट्टराई प्रसाई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नगर सभापति प्रकाश प्रसाई लगायतका नेता तथा कार्यकर्ताहरुले क्याम्पसमा पुगेर नवनिर्वाचित स्ववियू सभापति न्यौपाने, सचिव लिम्बू लगायतकालाई अविर जात्रा गरि बधाई शुभकामना दिएका थिए ।
समानुपातिकतर्फ पनि नेविसंघ पहिलो
यसैगरि, समानुपातिकतर्फ पनि ६१६ मतका साथ नेविसंघ पहिलो वन्न सफल भएको छ । यसअघि अनेरास्ववियूले लोकप्रिय मत पाउदै आएको यस क्याम्पसमा भने पहिलोपटक नेविसंघले लोकप्रिय मत प्राप्त गर्न सफल भएको छ ।यसैगरि एमाले निकट अनेरास्ववियूले ५१३ मत प्राप्त गरि दोश्रो बनेको छ । त्यस्तै, राप्रविसंगठनले ३१६,अखिल क्रान्तिकारीले २६९, समाजवादी विद्यार्थी यूनियनले १६२,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियनले १००,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (छैठौ) ९ मत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (क्रान्तिकारी ) २० मत प्राप्त गरेको छ । समानुपातिकतर्फ ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.