लोकतान्त्रिक व्यवसायी समूहको दमकमा विजयोत्सव (फोटो फिचरसहित )

दमक,७ माघ । दमक उद्योग बाणिज्य संघमा सानदार जित हासिल गरेपछि आज संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले जितको खुसीयालीमा विजयोत्सव मनाएको छ ।
दमक ६ स्थित सिद्धी मार्केटमा रहेको निर्वाचन प्रचार समितिको कार्यालयबाट शुरु भएको विजयी रयाली वजार,चौकका व्यवसायीहरुको पसल पसलमा पुगेर धन्यवाद दिने कार्यक्रम सम्पन्न भएको लोकतान्त्रिक व्यवसायी समूह निर्वाचन परिचालन समितिका संयोजक बबरजंग थापा (किरण )ले बताए ।
घरदैलोमा संघका नवनिर्वाचित अध्यक्ष देवी प्रसाद गुरागाईं ( गोपाल ) सहितका पदाधिकारी,सदस्यहरु तथा शुभेच्छुक व्यवसायी ,आयोजक संस्था सम्बद्ध व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
घरदैलोसहितको धन्यवाद ज्ञापन कार्यक्रममा उनीहरुले व्यवसायिक हितका लागि इमान्दारिताका साथ काम गरेर देखाउने प्रतिवद्धता जनाएका थिए । त्यस्तै, निर्वाचन परिचालन समितिका संयोजक थापाले संयुक्त लोकतान्त्रिक व्यवसायी समूहलाई दमकका व्यवसायीहरुको अपार साथ र सहयोग दिएकोमा धन्यवाद सहित यस अवसरलाई व्यवसायिक हितका निम्ति काम गर्नु पर्ने सुझाव दिए ।
विजयोत्सवमा संयुक्त गठबन्धनमा सम्बद्ध राजनीति दल नेपाली कांग्रेस, राप्रपा, जसपा, संघीय लिम्बूवान पार्टीका नेता, कार्यकर्ता, संघका पूर्व अध्यक्षहरु, पदाधिकारी,सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
शुक्रवार सम्पन्न निर्वाचनको आज विहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार लोकतान्त्रिक व्यवसायी समूहले सानदार जित हासिल गरेको थियो । २२ सदस्यीय कार्यसमितिमा दुई सदस्य र एक लेखा सदस्यमा नेकपा एमाले सम्बद्ध प्रगतिशील व्यवसायी समूहले जित निकालेको थियो । अन्य सबै पदहरुमा लोकतान्त्रिक व्यवसायीले कव्जा जमाउन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published.