-पत्रकार न्यौपाने पुरस्कृत
दमक,२२ पुस । दमक उद्योग वाणिज्य संघले आफना पूर्व अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठसहित उत्कृष्ट व्यवसायी , पत्रकार र कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
संघको ३१ औं बार्षिक साधारण सभाको अवसर पारेर आज शुक्रवार पूर्व अध्यक्ष श्रेष्ठसहित उत्कृष्ट व्यवसायीका रुपमा दमक ३ निवासी लक्ष्मी ट्रेडर्सका प्रोप्राइटर मिश्रीलाल साह र पाथीभरा स्टोरकी प्रोप्राइटर तिर्थकुमारी ताम्राकारलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको हो ।
त्यसैगरी संघले बर्षेनी प्रदान गर्दै आएको वाणिज्य पत्रकारिता पुरस्कार यसबर्ष दमकमा क्रियाशील पत्रकार नगेन्द्रमणी न्यौपानेलाई प्रदान गरिएको छ । नगद राशीसहितको सो पुरस्कारसंगै सम्मान पत्र पनि प्रदान गरिएको छ ।त्यसैगरी संघको कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी मञ्जु चौधरीलाई उत्कृृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सम्मानित तथा पुरस्कार व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेका थिए । संघको विधान अनुसार गत आर्थिक बर्षमा संघको आजिवन सदस्यता प्राप्त गर्ने व्यवसायीहरु रमेश लुइँटेल र बद्रीप्रसाद दाहाललाई आजीवन सदस्यताको प्रमाण पत्र समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य होमबहादुर थापाको विशेष आतिथ्य रहेको थियो भने दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ , नेपाल उद्योग वाणिज्य महासंघका एक नम्बर प्रदेश अध्यक्ष टिकाराज ढकाल, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष घनेन्द्रराज योङया, निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।