माङसेबुङ,१८ मंसिर । उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ ) ले विविधता बीचको एकता नै नेपालको मौलिक पहिचान रहेको बताएका छन् । इलामको माङसेबुङ गाउँपालिका ५ स्थित माङसेबुङमा आज आयोजित किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालमा रहेको विविधता भित्रको एकताले मौलिक पहिचानलाई कायम गरेको चर्चा गरे ।
‘नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसाँस्कृतिक मुलुक हो’ उनले भने, ‘यस्ता विविधताबीचको एकता नै नेपाल र नेपालीहरुको मौलिक पहिचान हो ।’
धर्मगुरु लिङदेनले किरात धर्ममार्फत् आत्मनिर्भरताका लागि कृषिको विकास, आत्मिक शान्तिका लागि अध्यात्म, स्वस्थ शरीरका लागि साकाहारी जीवनशैलीजस्ता विचारले मानवजातिलाई नयाँ सन्देश दिइरहेको बताउँदै उपराष्ट्रपति पुनले धर्मगुरु लिङदेनको विश्वशान्ति र मानव एकताको उपदेश विश्वमा उदाहरणीय रहेको उल्लेख गरे ।
उपराष्ट्रपति पुनले नेपालका सबै जातजाति, भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र विकासका लागि राज्यले समान दृष्टिले हेर्नपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले सबै क्षेत्रको समानुपातिक विकासका लागि नेपाल सरकार र प्रदेश सरकालाई ध्यानाकर्षण समेत गराए ।
उपराष्ट्रपति पुनले धर्मशास्त्र मुन्धुम किरात धर्मावलम्बीको मात्र नभई सिंगो नेपालीको उत्कृष्ट सम्पदा रहेको समेत दावी गरे । उनले सदियौंदेखि मानव सभ्यता चिनाउने मुन्धुम र किरात धर्म(संस्कृतिमा गौरव गर्न सबैमा आग्रह समेत गरेका थिए ।
उनले ५ वर्ष पहिले नै आफूलाई गुरुबाट निमन्त्रणा आएको स्मरण गर्दै यसवर्ष आउने अवसर पाएको भन्दै धर्मगुरु लिङदेनलाई धन्यवाद दिए । उपराष्ट्रपति पुनले वर्तमान धर्मगुरु लिङदेनले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको अधुरो र अपुरो कामलाई निरन्तरता दिएको भन्दै प्रशंसा समेत गरे ।
सोहि अवसरमा उपराष्ट्रपति पुनले भालुटारमा निर्माण गरिएको धर्मगुरु लिङदेनको प्रतिमाको समेत अनावरण गरे । धर्मगुरु लिङदेनको जीवित अवस्थामा नै पहिलोपटक प्रतिमा स्थापना गरिएको छ । उपराष्ट्रपति पुन पहिलोपटक माङसेबुङ आएका हुन् ।
कार्यक्रमम पूर्व संविधानसधा अध्यक्ष सुवासचन्द्र नेम्बाङले धर्मगुरुको आशिर्वादकै कारण आफुले यसपटक पनि निर्वाचन जितेको बताउँदै निर्वाचनका क्रममा जनतामाझ राखेका बाचाहरु पूरा गर्ने प्रतिवद्धता जनाए ।
जन्मोत्सव कार्यक्रममा विशेष गरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको मुखारविन्दुबाट अमृतमय माङ आशीर्वचन श्रवण गर्न संसारभरका किरात धर्मावलम्बीहरुको आगमन माङसेबुङमा हुदै आएको समारोहका अध्यक्ष तथा माङगेन्ना समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।माङगेन्ना समितिका अध्यक्ष योङहाङका अनुसार यसरी हरेक वर्ष मंसिर १८ र १९ गते किरातीहरुको केन्द्रीय धार्मिक तिर्थस्थल इलामको माङसेबुङमा भव्य ढंगले आत्मानन्द सेइङको जन्मोत्सव मनाउँदै आएका छन् ।
यसैगरि साँझ बृहत सांस्कृतिक कार्यक्रम अन्तर्गत द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बू, माङसेबुङ इकला चोत्लुङहाङ केदेम र लोकप्रिय गायक तथा संगीतकार नरेश लिङदेनको विशेष प्रस्तुति रहेको समारोहको सांस्कृतिक विभाग किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताए ।
अङसीमाङको जन्मोत्सव कार्यक्रमलाई व्यापक रुपमा सम्पन्न पार्न विगतका वर्ष झै यस वर्ष पनि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको अध्यक्षतामा किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम सहअध्यक्ष रहने गरी मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ६९ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोह मूल आयोजक समिति गठन गरिएको छ ।
त्यस्तै १९ गते मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद पत्र वितरण, पुस्तक÷पुस्तिका विमोचन सँगै साँझ सांस्कृतिक तथा साहित्यिक कार्यक्रम तय गरिएको छ ।