बेलवारी, १८ कार्तिक । मोरङको लक्ष्मीमार्गमा जारी पाँचौ बेलबारी बुद्व एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा सहलेस युथ क्लब सिरहा सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
डाँगीहाट यूथ क्लबद्वारा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शनबीच पनि क्यामरूनको एभिनीयर फुटबल क्लब सिरहासँग पराजित भएर खेलबाट बाहिरिएको हो ।सिरहाको सहलेस युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि क्यामरून गोल्डकपबाट बिदा लिएको छ । उत्कृष्ट प्रदर्शन गरे पनि खेलको नतिजा आफ्नो पक्षमा निकाल्न नसक्दा क्यामरूले पराजय भोग्नु पर्यो ।
क्यामरूनलाई बिदा गरेको सिरहा भने प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएर अझै आफ्नो फाइनल खेलको नजिता समेत निश्चित गर्ने अठोटमा उभिएको छ । विदेशी पाहुना टोली क्यामरून माथि हाबी भएको सिरहाको जितमा दुवै गोल जर्सि न.७ का फोडे फोफोनाले गरेका थिए । क्यामरूनलाई पन्छाउँदै सिरहाका तर्फबाट फोडेले ७ र ६७ औँ मिनेटमा गोल गरेर आफ्नो टिमको खेल गरिमालाई जोगाएका हुन्।
प्रतिस्पर्धात्मक तथा अत्यान्त रोचक खेलको ७ औँ मिनेटमा डी–बक्सभित्र प्राप्त बललाई फोडेले पोस्टको दिशा दिएर जालि चुम्दा क्यामरून पछि हटेको थियो । जसबाट सिरहाको अग्रता पहिलो हाफसम्म अघि बढ्यो । पहिलो हाफको अतिरिक्त समयको थप ३ मिनेटमा जर्सि न. ७ का सोङ्गले गोल गर्दै क्यामरून खेलमा फर्किएर सिरहासँग बराबर हुन पुगेको थियो ।
जित आफ्नो पक्षमा पारेर खेलमा साख जोगाउँनका लागि दोस्रो गोल भने सिरहाको मध्यान्तरपछि मात्रै सम्भव भएको थियो । ६८ औँ मिनेटमा सिरहाले अर्को गोल थप्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । अन्तिम समयको प्रतिष्पर्दामा सिरहाले गोल लगाएका कारण माध्यान्तर पछिको खेल अझै रोचक बनेको थियो । डी–बक्सभित्र क्यामरूनका एनिसको हातमा बलले लागेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै फोडेले दोस्रो गोल गरेर आफ्नो टिमको पक्षमा नतिजा निकेलेका थिए ।
एक्लै दुई गोल गर्न सफल भएका सिरहा क्लबका फोडे सबै खेलप्रेमी दर्शक सामु प्रिय बने । सिरहाको तुलनामा क्यामरूमले धेरै गोल गर्ने अवसर पाए पनि खेलाडी बिचको तालमेल र समयको सदुपयोग गर्न नसक्दा नजिताबाट पछि हट्नु पर्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले भरिपूर्ण तथा दर्शक स्रोताको हुटिङ सहितको बाक्लो उपस्थितिमा भएको खेलको म्यान अफ दी म्याच सिरहाका पेपे घोषित भए । उनले नगद रू ५ हजार पुरस्कार र ट्रफि हात पारे ।
अन्तर्राष्ट्रिय स्तरको गोल्डकपको उदघाटन संविधान सभा सदस्य तथा राष्ट्रिय सभाका सचेतक गोपी अच्छामीले गरेका थिए । २३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले रू ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउँने आयोजक क्लबका अध्यक्ष तथा खेल संयोजक विक्रम वान्तवा राईले बताए । शनिबारको खेल सशस्त्र प्रहरी बल (एपीएफ ) काठमाडौं तथा सहरा क्लब पोखराबीच प्रतिस्पर्धा हुने खेल प्रबक्ता नरेन्द्र बस्नेतले जानकारी दिए ।