आमनिर्वाचन : झापा १,३,४ र ५ कांग्रेस, २ मा माओवादीलाई

झापा, २२ असोज । झापाको ५ वटा संघ र १० वटा प्रदेशसभाको सिट बाँडफाडमा सहमति जुटाएका छन् । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि दलीय सहमति जुटाएका हुन् ।
जसअनुसार झापाको पाँच निर्वाचन क्षेत्रमध्ये चारवटा १,३,४ र ५ कांग्रेसले पाएको छ भने २ नं क्षेत्र माओवादीले हात पारेको छ । त्यस्तै जिल्लाका १० वटा प्रदेश क्षेत्रमध्ये पाँचवटा कांग्रेसलाई , चारवटा माओवादीलाई र एउटा एकीकृत समाजवादी पार्टीलाई मिलेको छ ।
कांग्रेसले पाएको क्षेत्र १ बाट पार्टी महामन्त्री विश्वप्रकाश शर्मा, ३ बाट नेता कृष्ण प्रसाद सिटौला, ४ बाट पार्टी जिल्ला सभापति देउमान थेवे उम्मेदवार वन्ने भएका छन् भने ५ को उममेदवार को हुने भन्ने आजसम्म टुंगो लागिसक्ने कांग्रेसले जनाएको छ ।

त्यस क्षेत्रमा कांग्रेसले साविक तोपगाछीका पूर्व अध्यक्ष पदम पोडेललाई उम्मेदवार बनाउने संभावना छ । अघिल्लो स्थानीय तहको निर्वाचन पछि उनी एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए । प्रदेश तर्फ कांग्रेसले उम्मेदवार अझै टुंग्याउन सकेको छैन् ।
यता, माओवादी केन्द्रले संघीय क्षेत्र नं २ बाट धर्मशिला चापागाई , क्षेत्र न. १ को प्रदेश ( ख) बाट श्यामबिर लिम्बू (सौभाग्य ), ३ को (ख )बाट पूर्ण प्रसाद राजबंशी, ४ को (क )बाट झलक सिङ्ग दर्लामी मगर (सन्देश ) र ५ को (ख ) बाट रेवत राज पुरी ( गगन ) लाई उम्मेदवार बनाउने भएको छ । त्यसमध्ये दर्लामी प्रदेशका वहालवाल कृषि मन्त्री हुन् भने नेतृ चापागाई पूर्वमन्त्री हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

Leave a Reply

Your email address will not be published.