दमक, ३१ भदौं । उर्लाबारी ५ मा मुख्य कार्यालय रही तीन वटा सेवा केन्द्र मार्फत वित्तिय कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज तीन जना पत्रकारलाई एकैसाथ पुरस्कृत गरेको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघको सभाकक्षमा आज सम्पन्न संस्थाको १२ औ बार्षिक साधारण सभाका अवसर पारेर दमकका पत्रकार विष्णु पौडेल र उर्लावारीका पत्रकारद्धय मदनबाबु प्रसाई र मिलनके राउतलाई पुरस्कृत गरेको हो । उनीहरुलाई सहकारी क्षेत्रका बिषयमा सञ्चारमाध्यमबाट नागरिकहरुलाई सुसुचित गराउन योगदान दिएको ठहर गर्दै नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको सहकारीले जनाएको छ । पुरस्कृत पौडेल निष्कर्ष मिडिया प्रालिका सञ्चालक हुन भने उर्लाबारीलाई कार्यथलो बनाएर पत्रकारद्धय राउत र प्रसाई दुई दशक बढी देखि क्रियाशील छन् ।
उत्कृष्ठ बाल बचत तथा शेयर सदस्यलाई पुरस्कार
साधारणसभाको उद्घाटनमा संस्थाले उत्कृष्ट बाल बचत कर्ता र उत्कृष्ट शेयर सदस्य समेत एक सय जना बढीलाई पुरस्कार प्रदान गरेको छ । बार्षिक साधारण सभा सम्पन्न गर्न संस्थाले गत मंगलबार पथरीशनिश्चरेस्थित पथरी बजार सेवा केन्द्र , बुधबार मधुमल्ला सेवा केन्द्र र बिहिबार उर्लाबारीस्थित मुख्य कार्यालयमा इकाइगत साधारण सभा गरेको थियो । आज भने सम्मान तथा पुरस्कार वितरण गरि संस्थाले माइन्यूट प्रमाणिकरणसहित सभाको औपचारिक रुपमा समापन गरिएको संस्थाका कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष गोपाल भटटराईको सभापतित्व र जिल्ला सहकारी संघ मोरगंका अध्यक्ष डिल्ली पोखरेलको प्रमुख आतिथ्यमा रहेको थियो ।
कार्यक्रममा उर्लाबारी ५ का वडाध्यक्ष रविन तामागं, ६ का वडाध्यक्ष चिन्तामणि पौड्याल लगायतको विशेष आतिथ्य रहेको थियो भने कार्यक्रममा संस्थाका सञ्चालक नरेन्द्र शेर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन घनश्याम भण्डारीले गरेका थिए ।
सो संस्थामा गत आर्थिक बर्ष सम्ममा कूल ९ हजार ५ सय ८८ जना शेयर सदस्य पुगेका र कूल ५ करोड ७७ लाख रुपैयाँ शेयर पुँजी कायम भएको कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।